जनता आवास कार्यक्रमः ४ सय ८६ घर निर्माण



विनोदसिंह विष्ट, बैतडी

बैतडीसहित सुदूरपहाडका ३ जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४ सय ८६ घर–परिवारले नयाँ घर पाएका छन् । नेपाल सरकारले जनता आवास कार्यक्रमअन्तर्गत भूकम्पप्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो ।

भवन डिभिजन कार्यालय बैतडीमार्फत आर्थिक वर्ष २०७६/७७ मा १० करोड ३ लाख रुपियाँमा बैतडी, दार्चुला र बझाङमा ४ सय ८६ घर निर्माण गरिएका हुन् ।

बैतडीमा २ सय ८५, दार्र्चुलामा १ सय १ र बझाङ्मा १ सय गरी तीन जिल्लामा ४ सय ८६ नयाँ घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीका लेखा अधिकृत प्रेमराज अवस्थीले बताउनुभयो । बैतडीमा ५ करोड ७ लाख ४ हजारमा २ सय ८५, दार्चुलामा एक करोड ५५ लाखमा १ सय १ र बझाङमा २ करोड ५ लाख ६ हजारमा १ सय नयाँ घर निर्माण भएका छन् ।

निर्माण भएका सबै घर भूकम्पप्रतिरोधी रहेका कार्यालयले बताएको छ । चालू आर्थिक वर्षमा थप घर निर्माण हुने भएका छन् ।

गरिब घरपरिवार खुसी
जनता आवास कार्यक्रमअन्र्तगत घर निर्माण भएपछि गरिब घरपरिवार खुसी भएका छन् । वर्षाेंदेखि त्रिपालमुनि बस्दै आएकाले घर पाएका हुन् । पञ्चेश्वर गाउपालिकाका–४ का गम्भीर टमाटाले सरकारले जनता आवास कार्यक्रमले घर बनाइदिएपछि खुसी भएका छन् । वर्षौंदेखि त्रिपालमुनि बस्दै आइरहेको भए पनि हाल छानामुनि बस्न पाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो ।

घर पाउँदा बर्खामा ढुक्कले छानामुनि बस्न पाएको पञ्चेश्वरकै सकुन्तला कोलीले बताउनुभयो । ‘पानी पर्दा सधैं चिन्ता हुने गरेको थियो’, उहाँले भन्नुभयो– ‘अब बर्खा होस् कि हिउँद ढुक्कसँग बसिन्छ ।’

सरकारले मुक्त हलियालाई पनि घर बनाइदिएकाले भवन डिभिजन कार्यालयबाट जनता आवास कार्यक्रमअन्र्तगत घर निर्माण गर्दा दोहोरो हुन नदिन स्थानीय तहको सिफारिसमा जनता आवासका घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

अधिकांश ठाउँमा दोहोरो सुविधा लिएको र घर हुनेले पनि जनता आवासको घर पाएको गुनासो आएपछि यो वर्ष स्थलगत निरीक्षण गरेर स्थानीय तहको सिफारिस अनिवार्य गरी घर निर्माण भएको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्