आयोगलाई निजगढ नगरपालिकाको पत्र



गोकुल घोरसाइने, बारा

निजगढ नगरपालिकाले व्यक्तिको नाममा दूषित दर्ता गरिएको निजगढ नगरपालिका–९ स्थित कित्ता नम्बर १३० को पर्ति जमिन सार्वजनिक गरिनुपर्ने भन्दै सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगमा चिठी पठाएको छ ।

साविक निजगढ गाविस–८ को पूर्व–पश्चिम राजमार्ग नजिक बकैया पुल ड्याम छेउको २ बिहागा ७ कठ्ठा १८ धुर पर्ति जमिन सार्वजनिक नै हुनुपर्ने भन्दै नगरपालिका कार्यालयले आयोगमा पत्राचार गरेको हो । नगरपालिकाको पत्रमा जसको नाममा दर्ता गराइएको भए पनि कानुनअनुसार बदर गराई सार्वजनिक नै कायम गराउनुपर्ने भनिएको छ । प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकालले जग्गाको विगत र वर्तमानको स्थिति खुलाएर सार्वजनिक गर्न ४ पृष्ठ लामो रायसहितको पत्र आयोगमा पठाउनुभएको हो ।

आयोगमा पठाइएको पत्रमा निजगढमा बस्ती विस्तार हुँदाको बेलादेखि नै सो जमिन स्थानीयले गौचरणका रूपमा प्रयोग गर्दै आएको र २०३७ सालमा सर्वे नापी हुँदासमेत किसानको नाम, थर वतनको महलमा उक्त जमिन पर्ति गौचरण भनेर लेखिएको उल्लेख गरेको छ । हालको अवस्थामा पनि उक्त जमिनमा शव दाहसंस्कार स्थान, क्रियापुत्री बस्ने घर, राजमार्गको डाइभर्सन र बाटो निर्माण गरेर निजगढवासीले सार्वजनिकरूपमा नै प्रयोग गर्दै आएको भनेर पत्रमा उल्लेख गरिएको छ ।

जमिनको वास्तविक अवस्थाबारे एक साताभित्र रायसहित जानकारी गराउन भनी आयोगले अनुरोध गरेपछि नगरपालिकाले पनि बदर गर्न रायसहितको पत्र पठाएको हो । नगरपालिकले आयोगमा रायसहित पत्र पठाएपछि उक्त जग्गा पुनः सार्वजनिक हुने आशा पलाएको निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

व्यक्तिको नाममा कीर्ते दर्ता गरिएको जमिन सार्वजनिक गर्न निजगगढबासीले सडक आन्दोलनदेखि मालपोत कार्यालय बारामा उजुरी र जिल्ला अदालत बारामा मुद्दासमेत हालेको उहाँले बताउनुभयो । निजगढ सरोकार समितिकोतर्फबाट ६ महिनाअघि केन्द्रीय कार्यालय काठमाडौं पुगेर उजुरी दिएपछि आयोगले छानबिन थालेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्