नदीजन्य पदार्थ उत्खननमा प्रहरीको रोक



नेपाल समाचारपत्र, पर्वत

कालीगण्डकी नदीको नदीजन्य पदार्थ उत्खनन रोक्न सशस्त्र र नेपाल प्रहरी खटिएका छन् । नदीका विभिन्न क्षेत्रमा उत्खनन बढेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि सशस्त्र र नेपाल प्रहरीलाई परिचालन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भदौ १५ सम्म नदीमा हेभी इक्विपमेन्ट प्रयोग गरेर उत्खनन गर्न कानुनी हिसाबले प्रतिबन्ध भएका कारण त्यसलाई कार्यान्वयन गर्न सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । ‘मुख्य जिम्मेवारी नेपाल प्रहरीको हो तर सशस्त्रलाई पनि गस्तीका रूपमा खटाएका हौं ।’ –प्रजिअ रेग्मीले भन्नुभयो ।

कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खननको विषय धेरै वर्ष अघिदेखि विवादित बन्दै आएको छ । नदीमा उत्खनन गर्ने पक्षले बगेर जाने बालुवालाई क्षति नहुने गरी निकाल्ने काम गरेको बताउँदै आएका छन् भने बिरोध गर्ने पक्षले अवैध उत्खनन बन्द गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा लेख्नेदेखि प्रहरी नै बोलाएर पक्राउ गर्ने कामसमेत हुँदै आएका छन् ।

यसै क्रममा जलजला गाउँपालिकाको लस्तीबाट शुक्रबार राति प्रहरीले एउटा एक्साभेटर र ट्रिपर नियन्त्रणमा लिएको छ । ग१क ४५११ नम्बर को ट्रिपर र चालक तथा नम्बर नखुलेको जेसीभीको चाबी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नियन्त्रणमा लिएका साधनलाई जिल्ला समन्वय समितिले ४० हजार जरिवाना तिराएर छाडेको छ ।

‘प्रहरीले अनावश्यक दुःख दियो’
निर्माण सामाग्री ढुवानीका क्रममा बाग्लुङ प्रहरीले मालढुंगामा नाकामा अनावश्यक दुःख दिएको भन्दै निर्माण व्यवसायीले आरोप लगाएका छन् ।

बागलुङबाट खटिने प्रहरीले अनावश्यकरूपमा सवारीसाधन नियन्त्रणमा लिने, पर्वतको सहस्रधारादेखि मालढुंगामा आएर समेत व्यवसायीलाई दुःख दिएको आरोप निर्माण व्यवसायीले लगाएका छन । सामान ओसार–पसार गर्दा बिल लिएर हिँडे पनि मालढुङ्गामा प्रहरीले समय–समयमा अनावश्यक दुःख दिने गरेको व्यवसायीको आरोप छ ।

शुक्रबार पनि पर्वतबाट निर्माण सामग्री लिएर आउँदै गरेका सवारीसाधानलाई रोकेर गलत मनसायले बिल माग्ने र काट्न लगाउने गरेको निर्माण व्यवसायी रुद्रबहादुर महतले बताउनुभयो । ‘हामीले सबै सामानको बिल लिएर आउँछौं, प्रहरीले अनावश्यकरूपमा गाडी रोकेर बिल काट्न लगाउने र दुःख दिने गर्छ ।’ –महतले भन्नुभयो ।

बागलुङ प्रहरीले पर्वतको क्षेत्रमा समेत आएर हस्तक्षेप गरेपछि व्यवसायीले हैरानी बेहोर्दै आएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले कतिपयले मूल्यभन्दा कम गराएर कर छली हुने गरी निर्माण सामग्री लिएर आएको हुँदा उनीहरूलाई फर्काएको दाबी गर्नुभयो । अधिकांशले निश्चित दर रेटभन्दा कममा सामान लिएर आउने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्