छोराको आसमा आमाको ज्यान जोखिममा



सल्यान, (नेस)

सल्याको कुमाख गाउँपालिका–७ कि २९ वर्षकी रीता विक सुत्केरी हुन जिल्ला अस्पताल सल्यान पुग्नुभयो । सुत्केरी हुने क्रममा पाठेघर फुटेर अवस्था अत्यन्त जटिल भई शल्यक्रिया गरियो । रीताको ज्यान त बच्यो तर उनको बच्चा बाँच्न सकेन ।

उनका तीन छोरी थिए र छोरा पाउने रहरमा उनी चौथोपटक गर्भवती भएकी थिइन् । उहाँको धेरै रगत बगेका कारण कुल ५ पिन्ट रगत चढाएर सल्यक्रिया गरिएको हो ।

यस्तै अचेत अवस्थामा अस्पताल पुगेकी छत्रेश्वरी गाउँपालिका–७ की २२ वर्षीया नेहा विक सुत्केरी हुन अस्पताल पुगिन् । उच्च रक्तचापका कारण इक्लेम्पसिया रोगबाट पीडित थिइन् । अवस्था जटिल भएपछि हेलिकोप्टरमार्फत नेपालगन्ज पठाउनुपर्ने भयो । तर, मौसम खराब भएकाले त्यो सम्भव भएन । पेटभित्रको बच्चाको निगरानी गर्दै शल्यक्रिया गरेर २२ सय ग्रामको बच्चा निकालियो । शल्यक्रियाको १२ घण्टा पश्चात् बल्ल बिरामीको होस खुल्यो र क्रमिक सुधार भयो ।

१० दिनको बीचमा जिल्ला अस्पताल सल्यानमा ६ वटा जटिल खालको शल्यक्रिया गरिएको छ । अस्पतालमा यस्तो शल्यक्रिया पहिलोपटक गरिएको जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माले बताउनुभयो । सल्यानमा छोराको रहरमा पटक–पटक गर्भवती हुने प्रचलनले गर्दा विभिन्न प्रकारको जटिलता निम्तिरहेको उहाँले बताउनुभयो ।

ग्रामीण भेगका महिला अझै पनि छोराको आसमा पटक–पटक गर्भवती हँुदा आमाको ज्यान जोखिममा पर्ने खतरा देखिएको उहाँले बताउनुभयो । जिल्लामा ग्रामीण भेगका महिला छोरा जन्माउने आसमा खतरा मोल्ने गरेको पाईएको छ । यस आर्थिक बर्षमा जटिल शल्यक्रिया ५७, सामान्यशल्यक्रिया ९२, जटिल प्रसूति १ सय १२ र सामान्य प्रसूति १ हजार २ सय २८ जनाले गराएको डाक्टर शर्माको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्