अवैध क्रसर अनुगमनको २४ घण्टामा सिडियो मन्त्रालयमा तानिए



मिला दरै, तनहुँ

तनहुँका अधिकांश क्रसर उद्योग अवैध र गैरकानुनी रुपमा सञ्चालन भएका छन् । जिल्लामा सार्वजनिक जग्गा नै अतिक्रमण गरी क्रसर उद्योग सञ्चालन भइरहेका छन् । जिल्लामा अवैध तवरले क्रसर उद्योग चलाउनेहरु विगतमा एलडिओ र सिडियो मात्रै नभई मन्त्री हेरफेर गर्न सक्छन् भन्ने गरिएको थियो ।

यहाँका राजनीतिक दल भन्दा ठूलो दल अवैध क्रसर सञ्चालकहरु भएका छन् । दिन दाहाडै ठूला–ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थको चरम दोहन गरिने क्रसरहरुमा माननीयहरुकै संलग्नता रहेको चर्चा चलिरहेकै बेला अवैध क्रसर विरुद्ध आक्रामक बनेका तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी मन्त्रालय तानिनुभएको छ ।

अवैध क्रसर उद्योग बन्द गराएरै छाड्ने दृढताका साथ अगाडि बढेका प्रअिज अधिकारी मन्त्रालय तानिनुभएको हो । प्रजिअ अधिकारीको अवैध क्रसर उद्योगमा अनुगमन गरी मेसिनहरु नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै मन्त्रालय सरुवा भएको हो । जिल्लाभरका अवैध क्रसरहरुको लिस्ट हातमा लिई बाँकी जिल्ला अनुगमन समितिको टिमसँगै क्रसरहरुको अनुगमनमा निस्किनुभएका प्रजिअको आक्रामकशैली देखेर अवैध क्रसर डनहरु उहाँको सरुवाको दौडधुपमा लागेको चर्चा चलिरहेकै बेला उहाँ मन्त्रालय तानिनुभएको हो ।

प्रजिअ अधिकारीलाई अवैध क्रसर उद्योगीहरुको दवावले मन्त्रालय तानिएको यतिबेला जिल्लामा चर्चा छ । खासगरी सार्वजनिक जग्गामा नै अवैध क्रसर सञ्चालन गरेका राजनीतिक पहुँच र सत्ता शक्तिमा क्रसर चलाएका डनहरु प्रजिअ अवैध क्रसर उद्योगीप्रति अनुदार लागेका जिल्ला प्राकृतिक स्रोत साधन संरक्षणमा लागेका सामाजिक अभियान्ताहरु बताउँछन् । माननीयह?कै एक समूह प्रजिअको सरुवामा हात धोएर लागिरहेको बताइएको छ । गत चैत्र ५ गते तनहुँको सिडियोको जिम्मेवारी पाएका अधिकारीलाई ४ महिनामै मन्त्रालय तानिएको हो ।

निकै सरल, सहज र मृदुभाषी मानिने अधिकारीले लकडानको समयमा समेत चुल्ठेमुुन्द्रेका कारण ढलान गर्न नसकिएको र काम अवरुद्ध बनेको सुडेको पुल, आँबुखैरेनी स्थित मोटरेवल पुलमा सुरक्षाको टिम सहित गएर काम अघि बढाउनुभएको थियो ।

कसैको दवाव र प्रभावमा नपरी आफ्नै विवेकमा काम गर्ने स्वभाव भएका प्रजिअ अधिकारीले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्य एवं क्वारेन्टाइन र आइसोलेशन व्यवस्थापन कार्यमा स्थानीय तहसँग समन्वय गरी जिल्लावासीको सेवा प्रवाह गर्नुभएको थियो । खास गरी लकडाउनमै घिरिङ, ऋसिङ, देवघाट जस्ता विकट गाउँपालिकामै पुगी अत्यावश्यक कामका लागि पास जारी गरेपछि प्रजिअ अधिकारीको प्रशंसा भएको थियो ।

उहाँ मन्त्रालय तानिएसँगै जिल्लाका अवैध क्रसर व्यवसायीहरु उत्साहित बनेको बताइएको छ । सरुवासँगै अधिकारीको अवैध क्रसर बन्द गर्ने अभियान अपुरै हुने हो कि ? नयाँ प्रजिअले त्यो सहास गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने अडकलबाजी गर्न थालेको छन् ।

प्रजिअ अधिकारीको ठाउँमा अध्यागत कार्यालय एयरपोर्टका प्रमुख सागर आचार्य आउनुहुन्छ । यता प्रजिअ अधिकारीले भने आफ्नो सरुवा स्वभाविक रहेको बताउदै आउनुभएको छ । लागु औषधको ट्रान्जिट मानिने तनहुँ जिल्ला अवैध क्रमहरु उद्योगहरुको समेत केन्द्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्