धितोपत्र बजारमा चार वर्षे रणनीति आउँदै



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षका निम्ति आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक बोर्डको नीति तथा कार्यक्रममा साना र ठूला कम्पनीको छुट्टाछुट्टै कारोबार गर्ने नीति लिएको छ ।

साना तथा मझौला कम्पनीको लागि छुट्टै कारोबार हुने गरी सेमी प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारको लागि मेन बोर्डको व्यवस्था गर्नको लागि नेप्सेलाई सहजीकरण गर्ने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ । बोर्डले शेयर लगानीकर्ताको बैंक खाता तथा डिम्याट खातासँग आबद्ध गरी पूर्ण स्वचालित कारोबार प्रणालीको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।

नीति तथा कार्यक्रममा हाल हुँदै आएको कारोबार राफसाफको तीन दिनको अवधिलाई छोट्याएर टि प्लस टुमा झार्ने उल्लेख छ । साथै वस्तु विनिमय बजार सम्बन्धमा ऐन तथा नियमावलीको व्यवस्था बमोजिम वस्तु विनिमयबजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीलाई अनुमति पत्र प्रदान भएको छ। धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरूलाई भित्र्याउन प्रोत्साहन तथा सहजीकरण गर्ने भनेको छ।

त्यस्तै धितोपत्र बजार तथा वस्तु विनिमय बजारको चरणबद्ध विकासका लागि चार वर्षे रणनीति बनाइएको भएको छ । साथै नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याएर संरचनात्मक सुधार गरी धितोपत्रको दोस्रो बजार कारोबार प्रणालीलाई सुदृढ गर्ने र केन्द्रीय निक्षेप सेवा कम्पनीको स्वामित्व संरचनामा सुधार ल्याउन आवश्यक सहजीकरण गरिने भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थास“गको सहकार्यमा सूचीकृत कम्पनी तथा धितोपत्र व्यवसायीले बोर्ड तथा नेप्सेमा पेश गर्नुपर्ने विवरणको ढाँचा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । धितोपत्रको दोस्रो बजार कारोबार प्रणालीलाई सुदृढ गर्ने र केन्द्रीय निक्षेप सेवा कम्पनीको स्वामित्व संरचनामा सुधार ल्याउन आवश्यक सहजीकरण गरी धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने । सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण हुने व्यवस्था मिलाई सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार कारोबारलाई सक्रिय बनाउने पनि बोर्डको कार्यक्रम रहेको छ ।

प्राइभेट इक्वीटी फन्ड तथा भेन्चर क्यापिटल जस्ता लगानी कोष सञ्चालन गर्न अनुमति प्रदान गर्ने, धितोपत्र बजारमा हुने ग्राहक परिचय विवरणको प्रभावकारी व्यवस्थापनका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मार्फत् एकीकृत ग्राहक परिचय विवरण व्यवस्थापनको व्यवस्था मिलाउने उल्लेख छ ।

अर्थतन्त्रसँग सम्बन्धित नीति निर्माण अनुसन्धान गर्ने आर्थिक विकास तथा प्रशासन केन्द्र जस्ता अध्ययन अनुसन्धान गर्ने संस्था तथा विश्वविद्यालयसग सम्बन्ध विकास गरी धितोपत्र बजार तथावस्तु विनिमय बजार नियमन तथा सुधार सम्बन्धमा नीतिगत अध्ययन अनुसन्धान गर्ने गराउने व्यवस्था मिलाइने भएको छ।बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयरहरु खरिद तथाविकास गर्ने जस्ता कुरा बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै कानुनी सुधारका विषयमा धितोपत्र बजारको दीर्घकालीन विकासका लागि आवश्यक ट्रष्ट ऐनको मस्यौदा गरी विधायन प्रक्रियाका लागि अर्थ मन्त्रालयसमक्ष पेश गर्ने बोर्डलाई जवाफदेहितासहितको अधिकार सम्पन्न नियमन निकाय बनाउन नेपाल धितोपत्र तथा विनिमय बोर्ड ऐन र धितोपत्र कारोवार तथा धितोपत्र व्यवसायीको नियमनलाई प्रभावकारी बनाउन धितोपत्र कारोबारसम्बन्धी ऐनको मस्यौदा गर्ने, ऋणपत्रको दोस्रो बजारलाई सक्रिय बनाई विकास तथा विस्तार गर्न आवश्यक कानुनी व्यवस्था गर्न ऋणपत्र बजारसम्बन्धी नियमावली बनाउने जस्ता विषय छन् ।

यसैगरी भित्री सूचनाका आधारमा हुने कारोवारलाई निरुत्साहित गरी धितोपत्रको दोस्रो बजार कारोबारलाई विश्वसनीय बनाउन हाल स्वीकृतिका क्रममा रहेको भित्री कारोबार बन्देज
नियमावली सरकारबाट स्वीकृत भई आएपछि लागू गर्ने । धितोपत्रको सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउन आवश्यक निर्देशिका बनाई बुक विल्डिङ प्रणाली लागू गर्ने ।

धितोपत्रको दर्ता तथा निष्काशन नियमावलीमा संगठित संस्थाहरुको मर्जर तथा एक्विजिसन सम्बन्धी व्यवस्था भएकोमा सोलाई कार्यान्वयन गर्न यससम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने । साथै बोर्डबाट धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त संस्थाहरुको मर्जर तथा एक्विजिशनसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने ।

धितोपत्रको दोस्रो बजारसम्बन्धी जानकारी र पहुँच देशव्यापी बनाउन धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरण गरी परिचालन गर्न आवश्यक कार्यविधि बनाउनेलगायतका विषय बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्