पहिरोले कालीगण्डकी प्रसारण लाइनको टावर बगायो



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पहिरोका कारण निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको टावर ढलेको छ ।
पर्वतको कुश्मा नगरपालिकाको खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानादेखि जोड्ने खुर्कोट–दाना निर्माणाधीन विद्युत् प्रसारण लाइनको एउटा टावर ढलेको हो ।

नेपाल विद्युत् प्राधिकरणद्वारा कालीगण्डकी प्रसारण कोरिडोरअन्तर्गत सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकस्थित टावर ढलेर क्षति पुगेको स्थानीय राजु आचार्यले जानकारी दिनुभयो । जलजलास्थित धाइरिङको डिलबाट ठूला ढुंगासहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेगमा लागेर १४ नम्बरको टावर ढलेको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताउनुभयो ।
कुनामा रहेको भीरमा पल्टिएकाले तार तानिसकिएको छ । प्रसारण लाइनको अन्य दुई वटा टावरमा पनि असर

गरेको छ । नजिकै रहेको मिलनचोक–धाइरीङ सडक र बस्तीमा भने क्षति पुग्न नपाएको रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार टावर पल्टिँदा करिब ४ करोड बराबरको क्षति पुगेको छ । टावर ढल्नुको कारण र पारेको क्षतिको बारेमा आयोजनाले अध्ययन थालेको छ ।

नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा चार वर्षअघि शुरु गरेको ३९ दशमलव ६ किलोमिटर दूरीको खुर्कोट–दाना प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । ११४ वटा टावरमध्ये पोखरेबगरमा दुई वटा बाहेक सबै ठाउ“मा टावर ठडाएर तार समेत तानिएको आयोजनाका उपनिर्देशक लक्ष्मण फुयाँलले बताउनुभयो ।

दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता भएको आयोजनाअन्तर्गत दाना र खुर्कोटको सबस्टेशनसमेत अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । दोस्रो चरणमा खुर्कोटदेखि नवलपरासी जोड्ने प्रसारण लाइन र सबस्टेशन समेत निर्माण शुरु भएको घोषले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्