सिन्धुपाल्चोकका पहिरोपीडितका घर प्रदेश सरकारले बनाइदिने



हेटौंडा, (नेस) ।

सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको छ । स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गर्ने बागमती विपद् व्यबस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई तत्काल राहत पनि उपलब्ध गराइने भएको छ । समिति अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सभाध्यक्षतामा बसेको बैठकले क्षतिको अबस्था हेरेर तत्काल स्थानीय तहमार्फत् राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

समितिले बाह्रबीसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । उक्त रकमबाट स्थानीय तहले कार्यविधिअनुसार राहत, घाइतेको उपचार, पुनस्र्थापनालगायत काम गर्न सक्नेछन् ।

यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम १ लाख पनि तत्काल उपलब्ध गराइने समितिले जनाएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५, जम्बु र भोटेकोशी गाउँपालिका–५, बुलकोटेका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढीपहिरो पीडित ८० परिवारलाई आर्थिक सहयोग गरेको हो ।

कांग्रेसले भोटेकोशी गाउँपालिकाका घरवारविहीन ८० परिवारलाई प्रतिपरिवार ५ हजार रुपियाँका दरले प्रभावित क्षेत्रमा बितरण गरेको छ । काठमाडौंको ह्याम्स अस्पताल पुगेर ३ जना मृतकका परिवारलाई नगद १० हजारका दरले र ७ जना घाइतेलाई पनि १० हजार रुपियाँका दरले १ लाख रुपियाँ प्रदान गरिएको संसदीय दलका सचिव निमा लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्