विप्रेषण आप्रवाह घट्यो



काठमाडौं, (नेस)
आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा विप्रेषण आप्रवाहमा ३ प्रतिशतले कमी आई ७७४ अर्ब ८७ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो

वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव ५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८ दशमलव १ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५ दशमलव ७ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५ दशमलव ४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ३ दशमलव ६ प्रतिशतले कमी आई ८७२ अर्ब ७८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ दशमलव ६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालू खाता घाटा ७१ दशमलव २ प्रतिशतले घटेर ७१ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४९ अर्ब ८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब २० करोड चालू खाता घाटा रहेकोमा समीक्षा अवधिमा ६५ करोड ६४ लाख रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८० करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चिति २५ प्रतिशतले वृद्धि

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५ दशमलव ८ प्रतिशतले वृद्धि भई जेठ मसान्तमा १३०६ अर्ब ४६ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ जेठ मसान्तमा १० अर्ब ७९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ जेठ मसान्तमा ११४२ अर्ब ७८ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १३६ अर्ब ४७ करोड रहेकोमा २०७७ जेठ मसान्तमा १६३ अर्ब ६८ करोड पुगेको छ । २०७७ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव ५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्