मुद्रास्फीतिमा सुधार



नेपाल समाचारपत्र, काठमाडौं

वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति जेठ महिनामा ४ दशमलव ५४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ४१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८७ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी, सूर्तिजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ४ दशमलव ४३ प्रतिशत, तराईमा ४ दशमलव ८६ प्रतिशत, पहाडमा ४ दशमलव १३ प्रतिशत र हिमालमा ४ दशमलव ३४ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको ६ जेठमा यी क्षेत्रहरुमा क्रमशः ७ दशमलव १० प्रतिशत, ५ दशमलव ८० प्रतिशत, ५ दशमलव ७० प्रतिशत र ६ दशमलव ४६ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

त्यस्तै वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३ दशमलव ९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ५ दशमलव ३२ प्रतिशत रहेको थियो । मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ६ दशमलव ६० प्रतिशत र ३ दशमलव ६२ प्रतिशत रहेको छ । उपभोग्य वस्तु र निर्माण सामग्रीको थोक मूल्य क्रमशः शून्य दशमलव ३४ प्रतिशत र ४ दशमलव ६७ प्रतिशतले घटेको छ ।

जेठमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ७ दशमलव ४८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ९ दशमलव ५४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक १३ दशमलव ५५ प्रतिशत र ज्यालादर सूचकांक ५ दशमलव ८५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्