विस्तारकारी मौद्रिक नीति ल्याउन कांग्रेसको सुझाव



नेपाल समाचारपत्र, काठमाडौं

विपक्षी दल नेपाली कांग्रेसले अर्थतन्त्रमा सरकारी हस्तक्षेप हुन नहुनेमा जोड दिएको छ । नेपाल राष्ट्र बैंकले ल्याउने तयारी गरेको मौद्रिक नीतिमा पार्टीका सुझाव दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले उक्त कुरा जोड दिएको हो ।

पार्टीको धारणा प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका कांग्रेस नेता डा. रामशरण महतले केन्द्रीय बैंकद्वारा वित्तीय स्थायित्व र आर्थिक वृद्धि हासिल गर्ने किसिमको मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभयो ।

उद्योगी व्यवसायीलाई सहुलियत दिन मौद्रिक नीतिले पुर्नकर्जा कोषलाई बढाएर दुई खर्ब रुपियाँ बनाउनुपर्ने सुझाव दिँदै आगामी मौद्रिक नीति ब्याजदरमा स्थायित्व, मुद्रास्फिति नियन्त्रण, रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित हुनुपर्नेमा डा. महतको जोड छ ।

उहाँले अहिले बैंक तथा वित्तीय संस्था मर्जको कुरा आएको छ, चुक्ता पुँजी बढाइएको उल्लेख गर्दै प्राकृतिक ढंगले मर्ज गर्नका लागि सहुलियत दिन सकिन्छ तर फोर्स मर्जर गर्न नहुने भन्नुभयो । ‘मर्जरमा जानेलाई केही वर्षसम्मका लागि कर छुट दिने नीति ल्याएर स्वेच्छिक बनाउनुपर्छ सरकारले बैंकहरुलाई जबर्जस्ती मर्ज गराउनु उचित हुँदैन’ -डा. महतको भनाइ छ । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गरिरहेका विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीहरूको भूमिकालाई वेवास्ता गर्दै उनीहरूलाई वाणिज्य बैंकमा गाम्भने काम गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

नेपाल राष्ट्र बैंकले गैर आवासीय नेपाली (एनआरएन)लाई नेपाली बैंकमा निक्षेप राख्नका लागि आकर्षित गर्ने खालको नीति मौद्रिक नीतिमा समेट्न सुझाव दिँदै एनआरएनलाई नेपालमा सम्पत्ति किन्न दिनुपर्ने तर्क डा. महतको छ । राजनीतिक अधिकार बाहेक एनआरएनलाई आर्थिक र सामाजिक अधिकार दिनुपर्ने विषयलाई उहाँ स्मरण गराउनुभयो ।

कोरोनाका कारण उत्पन्न आर्थिकमन्दीको प्रभावबाट नेपाललाई बचाउन विस्तारकारी मौद्रिक नीतिको खा“चो रहेको औंल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्