राजस्व छली गर्नेविरुद्ध ३९ करोड बिगो दाबी



नेपाल समाचारपत्र, काठमाडाैं ।

राजस्व अनुसन्धान विभागले नक्कली बिल विजक जारी गरी राजस्व छली गर्ने व्यवसायीविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेको छ । विभागले डेढ दर्जन कम्पनीविरुद्ध ३९ करोड रुपियाँबराबरको बिगो दाबी गरी मुद्दा दायर गरेको हो ।

विभागले झुट्टा तथा नक्कली मूल्य अभिवद्धि कर विजक प्रयोग गरी राजस्व छली गर्नेमा काठमाडाैं  महानगरपालिका वडा नं. १ स्थित युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनलका सञ्चालक भुवन पाण्डेविरुद्ध ३७ करोड ६० लाख २८ हजार सात सय रुपियाँ विगो असुल गरी जरिवाना र कैद माग दाबी लिई असार २९ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता दायर गरेको छ ।

वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर चुहावटमा कसूर गरेको देखिएको विभागको दाबी छ ।

दुवै कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर चुहावटमा कसूर गरेको देखिएको विभागको दाबी छ । पाण्डेलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन (२०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिम बिगो रकम असुल उपर गरी जरिवाना र कैद सजाय माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

त्यस्तै भैरहवा गल्लामण्डीस्थित सोनी ज्वेलर्सका प्रोप्राइटर सुनील सुनार र निजका सहयोगी अमित परियारसमेतले अवैध सुन चोरी पैठारी गरी राजस्व चुहावट तथा अवैध आर्थिक कारोबार गरेको आरोपमा विभागले उनीहरूको साथमा रहेको ९९ लाख पाँच हजार रुपियाँ नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य शुरु गरेको छ ।

निजहरूले सुन चोरी निकासी पैठारी गरी राजस्व चुहावट तथा अवैध आर्थिक कारोवार गरेको भन्ने सूचनाको आधारमा असार ३० गते राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले उनीहरू सवार गाडी बुटवलस्थित राजमार्ग चौराहामा चेकजाँच गर्दा अवैध आर्थिक कारोबार र राजस्व चुहावट गरी लुकाई ल्याउँदै गरेको नगद ७३ लाख ५५ हजार बरामद गरेको थियो । साथै पक्लिहवास्थित घर र सोनी ज्वेलसमा समेत खानतलासी गर्दा २५ लाख ५० हजार रुपियाँसमेत बरामद भएको विभागले जनाएको छ ।

यसैबीच बिल विजक जारी नगरी कारोबार गरेको अभियोगमा काठमाडौंका विभिन्न १४ वटा फर्मलाई ३० लाख ७५ हजार रुपियाँ जरिवाना गरिएको विभागले जनाएको छ । ती फर्मले काठमाडांैमा कपडाको कारोबार गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्