तिनाउमा दुईवटा पक्की पुल



नेपाल समाचारपत्र, पाल्पा

वर्षात्का बेलामा निकै जोखिमयुक्त र पहिरोका कारण वन्द भइरहने सिद्धार्थ राजमार्गको केही खण्डका लागि विकल्पका रूपमा जिल्लाको तिनाउ गाउँपालिकामा दुईवटा पक्की पुल बनेपछि स्थानीय बासिन्दालाई राहत पुग्ने देखिएको छ ।

तिनाउ खोलामा पुल बनेपछि कालान्तरमा यो पुल बाइपास रोडका रूपमा पनि विकसित हुने विश्वास लिइएको छ । केही दिन पहिले दोभान प्रहरी चौकीनजिकै (पैठेडाँडा र भूतखोलाको बीच) बाट गाउँपालिका भवनतिर जाने खोलामा पक्की पुल बनेको हो भने अर्काे पुल दोभान खोलामा पनि पक्की पुल निर्माण गरिएकाले यसले यस क्षेत्रका वासिन्दालाई निकै राहत पुगेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।

तिनाउ र दोभान खोलामा पुल निर्माण भएपछि तिनाउँका दोभान, कचल क्षेत्रका स्थानीयलाई वर्षात्मा खोलामा यातायातका साधन चलाउनसमेत सहजता भएको घर्तीले बताउनुभयो । वर्षौंदेखि पुल नहुँदा खोला वारि र पारि नै गाडी राखेर हिँड्नुपर्ने बाध्यता हटेको छ । पाल्पाको तिनाउ र दोभान खोलामा दुईवटा पुल निर्माण सकिएसँगै स्थानीयमा खुसी छाएको हो ।

तिनाउ गाउँपालिकाअन्तर्गत पर्ने तिनाउ नदीमा पुल नहुँदा वर्षात्को समयमा स्थानीयलाई वारपार गर्न समस्या भएको थियो । दोभानको झुम्सा र कचलखोलामा पक्की पुल निर्माण भएपछि सिद्धबाबा सडकको वाइपास सडकका रूपमा दोभानदेखि नुवाकोट हुँदै बुटवल जान–आउनसमेत सहज भएको स्थानीयले वताएका छन् ।

प्रमुख घर्तीका अनुसार अब यी दुईवटा पुलको निर्माणसँगै दोभान बुटवल वाइपास र रिव्दीकोट गाउँपालिकाको धुस्टुंग बतासेसम्म वर्षातको समयमा समेत यातायात चलाउन सहज भएको छ । गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठका अनुसार पुलले गर्दा दोभान र कचल क्षेत्रका हजारौं यात्रुलाई राहत भएको छ ।

सडक डिभिजन कार्यालयको ७ करोड ६५ लाख ३० हजार ६३ रुपियाँको लगानीमा पक्की आरसीसी मोटरेवल पुल निर्माण भएको गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्