विकास योजनामा बचेको रकमले नर्सरी



नेपाल समाचारपत्र, सिन्धुपाल्चोक

निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बलेफी गाउँपालिकामा नर्सरी स्थापना गरिएको छ । बुधबार एक बिशेष समारोहकाबीच बाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश सरकारको लगानीमा निर्माण भएको नर्सरीमा बिरुवा रोप्दै उद्घाटन गर्नुभयो ।

मन्त्री नेपाल र बाग्मती प्रदेशसभाका अर्थ तथा विकास समिति सभापति सरेश नेपालले एक–एक वटा एभाकाडोको बिरुवा रोपेर नर्सरी व्यवस्थापनको शुभारम्भ गर्नुभएको हो । नर्सरी व्यवस्थापन शुभारम्भ समारोहमा बोल्दै मन्त्री अरुण नेपालले जमिन र जडीबुटीलाई जनजीवनसँग जोड्नुपर्ने बताउनुभयो ।

‘गाउँ–गाउँमा बिरुवा पु¥याउनुस्, फलफूल खेतीको व्यावसायिक विकासका लागि यो नर्सरीले टेवा पु¥याउनुपर्दछ ।’ –मन्त्री नेपालले भन्नुभयो । पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रदेश सांसद सरेश नेपालको क्षेत्रमा ५० लाखमाथिका विभिन्न योजना टेन्डरमार्फत काम गर्दा बँचेको रकमबाट यो नर्सरी स्थापना गरिएको हो ।

फलफूल तथा अन्य जडीबुटीजन्य बिरुवा रोप्नुपरेमा बिरुवाका लागि बनेपा, काठमाडौंसम्म पुग्नुपर्ने अवस्थामा बलेफीमै नर्सरी स्थापना भएपछि स्थानीय खुसी भएका छन् । बिरुवाको सहज पहुँच नहुँदा यस भेगका धेरैले चाहेर पनि फलफूल खेती गर्न सकेका थिएनन्, अब फलफूल खेतीको विकास हुने विश्वास लिइएको छ । नर्सरीलाई व्यवस्थित बनाउँदै गाउँटोलमा बिरुवा बिक्री–वितरण गरिने नर्सरी व्यवस्थापन समितिका अध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्