लकडाउनमा बहाल छुट गर्ने ६० घरधनी सम्मानित



यमलाल भुसाल, बुटवल

बुटवलमा लकडाउनको समयमा घरबहाल छुट गर्ने ६० जना घरधनीलाई सम्मान गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा घरबहाल छुट गर्ने घरधनीहरूलाई बुटवल उद्योग वाणिज्य संघ रूपन्देही र नेपाल घर बहाल सरोकार संघ रूपन्देहीले सम्मान गरेको हो ।

बुटवल उद्योग वाणिज्य संघमा अयोजित कार्यक्रममा घरबहाल छुट गर्ने घरधनीहरूलाई बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले कदरपत्रले सम्मान गर्नुभएको हो । कोभिड–१९ को संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि व्यापार व्यवसाय ठप्प भएकाले आफ्नो घरमा बहालमा बस्नेहरूलाई सहज होस् भन्ने उद्देश्यले बुटवलमा कतिपय घरधनीले स्वतःस्फूर्तरूपमा निश्चित समयको घरबहाल छुट गरेका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले कोरोना महामारीको असामान्य परिस्थितिमा घरबहाल छुट गर्ने घरधनीलाई धन्यवाद दिँदै घरभाडा र बुटवलको व्यावसायिक प्रतिष्ठानबीच अन्तरसम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले १२ प्रतिशतबाट घटाएर घरबहाल कर बुटवलमा १० प्रतिशतमा झारिएको बताउँदै बहालकर महँगो भयो कसैले भन्छ भने त्योभन्दा पनि ५ प्रतिशत बढी भाडा दिने गरी नगरपालिकालाई जिम्मा दिन आग्रह गर्नुभयो ।

त्यस्तै, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले केही व्यक्तिले गरेको यो काम उदाहरणीय भएको बताउँदै सकेसम्म सबैलाई केही समयको भए पनि घरभाडा छुट गर्न घरधनीहरूलाई आग्रह गर्नुभयो ।

नेपाल घरबहाल सरोकार संघका केन्द्रीय अध्यक्ष शंकर कोइरालाले यो असामान्य परिस्थितिमा बहालमा बस्ने तथा व्यवसाय गर्नेलाई बहाल छुट गर्ने उदाहरणीय काम भएको बताउँदै घरधनी तथा बहालमा व्यवसाय गर्ने दुवै पक्षको लगानीको सरक्षा गर्ने सरकारको काम भएकाले बुटवलका हकमा नगरपालिकाले काम गर्न ध्यानाकर्षण गराउनुभयो ।

अहिले जसरी घरधनीले व्यवसायीको पीरमर्का बुझेका छन् त्यसै गरी नगरपालिकाले पनि घरधनीका पीरमर्का बुझेर बहाल करमा सम्बोधन गर्न मेयर सुवेदी संघ उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्