ग्रामीण भेगमा पनि आयोडिनयुक्त नुन



किरण धामी, दार्चुला

विगतमा बजार क्षेत्रका नागरिकले मात्रै आयोडिन नुन खाने गरेकोमा पछिल्लो समय दार्चुलाको ग्रामीण क्षेत्रका नागरिकले समेत आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका छन् ।

जिल्लाको ग्रामीण बस्तीहरूमा विगतमा ढिके नुनको प्रयोग गरिँदै आएकोमा अहिले आयोडिनयुक्त नुनको प्रयोग हुँदै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नुन बिक्री डिपो दार्चुलाका डिपो प्रमुख प्रेमसिंह कुँवरले जानकारी दिनुभयो । हिमाली जिल्ला दार्चुलामा एक वर्षको अवधिमा ३ हजार ३ सय ६३ क्विन्टल २७ किलोग्राम आयोडिनयुक्त नुन बिक्री भएको छ ।

गत आर्थिक वर्ष २०७५÷०७६ को ४ सय ९३ क्विन्टल १५ किलोग्राम मौज्दात तथा चालू आर्थिक वर्ष २०७६÷०७७ मा साल्ट ट्रेडिङ कर्पोरेसन अञ्चल कार्यालय धनगढीबाट जिल्लामा ढुवानी भएको ३२ सय क्विन्टल आयोडिनयुक्त नुनमध्ये सो मात्रामा खपत भएको हो ।

गत आर्थिक वर्षको मौज्दात र चालू आर्थिक वर्षको ३ हजार ६ सय ९३ क्विन्टल नुनमध्ये ३ हजार ३ सय ६३ क्विन्टल २७ किलोग्राम बिक्री अर्थात् खपत भएको डिपो प्रमुख कुँवरले जानकारी दिनुभयो । विगतका वर्षहरू आयोडिन नुनको माग निकै कम मात्रामा हुने गरेकोमा केही वर्षयता आयोडिनयुक्त नुनको माग निकै बढेको उहाँले बताउनुभयो ।

‘विगतका वर्षहरुको तुलना अहिले आयोडिन युक्त नुनको माग निकै बढेको छ, एक दिनमा २० क्विन्टलसम्म बिक्री हुन्छ ।’ –डिपो प्रमुख कुवरले भन्नुभयो । निकै कम बिक्री भएको दिनमा समेत आठ÷दश क्विन्टलसम्म बिक्री हुने गरेको उहाँको भनाइ छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नुन बिक्री डिपो दार्चुलाबाट एक जनालाई १० किलोग्रामका दरले नुन बिक्री गरिँदै आएको कँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्