लमजुङमा एक वर्षमा १५ सवारी दुर्घटना



लमजुङ, (नेस)

लमजुङमा चालू आर्थिक वर्षको मध्य असारसम्म १५ सवारीसाधन दुर्घटनामा परेका छन् । चालू आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लमजुङले जनाएको छ ।
सडक दुर्घटनामा परेर ७ जना पुरुष १ जना महिला तथा १ जना बालिका गरी ९ जनाले ज्यान गुमाएका हुन् ।

ट्राफिक नियमको पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, अनियन्त्रित गतिमा सवारी हाँक्ने प्रवृत्ति बढेकाले सवारी दुर्घटना दिन प्रतिदिन बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै पर्चा, पम्प्लेट, ब्रोसरबाट जानकारीमूलक सन्देश चालक, सहचालक र पैदल यात्रुलाई प्रदान गर्दै आएको छ । तर पनि दुर्घटनामा भने कमी आउन सकिराखेको छैन ।

चालू आार्थिक वर्षमा ट्याक्टर ५ वटा, जिप–कार–भ्यान ४ वटा, बस २ वटा, ३ वटा मोटरसाइकल र १ ट्रक दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाटले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/०७४ मा ७ वटा सवारी दुर्घटनामा परेका थिए । आर्थिक वर्ष ०७४/०७५ मा १३ वटा र ०७५/०७६ मा १४ वटा सवारी दुर्घटनामा परेका थिए । आर्थिक वर्ष २०७३/०७४ मा ४ जना, ०७४/०७५ र ०७५/०७६ मा १०–१० जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्