तीन स्थानमा पीसीआर प्रयोगशाला



बैतडी, (नेस)
बैतडीसहित सुदूरपश्चिमका ३ जिल्लामा कोरोना परीक्षणका लागि पीसीआर प्रयोगशाला स्थापना हुने भएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्को निर्णयअनुसार बैतडी, डोटी र धनगढीमा प्रयोगशाला स्थापना हुन लागेको हो ।

जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल डोटी र सेती प्रादेशिक अस्पतालमा प्रयोगशाला स्थापनाका लागि मेसिन र मेसिनका सामग्री धनगढी पुगिसकेका छन् । प्रयोगशाला स्थापनाको बैतडीका भवनको तयारी रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । प्रदेश सरकारले पीसीआर मेसिन शीघ्र उपलब्ध हुने भनेर पत्र पठाएको र सोहीअनुसार प्रयोगशाला स्थापनाको तयारी भएको उहाँले बताउनुभयो ।

चार करोड २७ लाख ९२ हजारमा देवी मेडिसिन धनगढीले प्रयोगशालाका लागि आवश्यक सामग्री आपूर्ति गरेको आपूर्ति केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले बताउनभयो । आपूर्तिकर्ताले सामग्री ढुवानीसँगै जडानको कामसमेत गर्ने जनाइएको छ । प्रयोगशालाका लागि आवश्यक केही सामग्री आपूर्ति केन्द्रमा राखिएको भए पनि मुख्य मेसिनहरू भने प्रयोगशालामा जडान हुने क्षेत्रमा लगिने उहाँले बताउनुभयो । मेसिन जडानपश्चात् प्रगोगशाला सञ्चालनमा आएपछि कोरोना परीक्षण तीव्र गतिमा हुने जनाइएको छ ।

हाल सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला हुँदा परीक्षणका लागि काठमाडौंलगायतका प्रयोगशालामा स्वाब पठाउनुपर्ने बाध्यता रहेको छ । मेसिन जडानपश्चात् प्रगोगशाला सञ्चालनमा आएपछि कोरोना परीक्षण तीव्र गतिमा हुने जनाइएको छ ।

कोरोना परिक्षण गर्न प्रयोगशालामा माइक्रोबाइलोजिस्ट, भाइरोलोजिस्ट, मोलिकुलर भाइलोजिस्ट आवश्यक पर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्