लगानीकर्ता बेच्न हतारिँदा नेप्सेमा गिरावट



नेपाल समाचारपत्र, काठमाडौं

लकडाउनका कारण लामो समयसम्म बन्द रहेको शेयर बजार सोमबारबाट खुलेको छ । बजार खुल्नेबित्तिकै आरोलो लाग्न थालेपछि पहिलो घण्टामा नै चार प्रतिशतले घटेर २० मिनेट कारोबार स्थगित भएको थियो ।

सर्किट ब्रेक लागेपछि पुनः सुचारु भएको शेयरबजार केही सुधारिए पनि अन्ततः १२ दशमलव ८७ अंक अर्थात् एक दशमलव शून्य ७ अंकले घटेर बन्द भएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १ हजार १ सय ८८ दशमलव ७० अंकमा रोकिएको छ । लामो समयसम्म बजार बन्द भएपछि आत्तिएका लगानीकर्ता बिक्री गर्न हतारिएपछि परिसूचक ओरालो लाग्न पुगेको थियो ।

सर्वसाधारण लगानीकर्ताको पुँजी अड्किएर बसेपछि लगानीकर्ता मर्कामा परेका थिए । समग्र परिसूचकमा दोहोरो अंकको गिरावट आए पनि यस दिन सातवटा कम्पनीकोे शेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएपछि सर्किट ब्रेक लागेको थियो ।

सकारात्मक सर्किट लाग्नेमा नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक तथा सर्वसाधारण समूह रहेका छन् भने स्वावलम्बन लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत घटेका कारण नकारात्मक सर्किट लागेको छ ।

कुल १ सय ४७ वटा कम्पनीको १४ लाख ४४ हजार १ सय ७३ कित्ता शेयर ४८ करोड, ५३ लाख १५ हजार ६२७ रुपियाँमा किनबेच भएको छ । यस दिन कारोबारमा आएका समूहमा व्यापार, उत्पादन, अन्य र जीवन बीमा समूहबाहेक सबै समूहमा गिरावट आएको छ ।

जसमध्ये सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी १ सय १ दशमलव ४६ अंकले घटेको छ । त्यस्तै सोमबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको तीन करोड ५७ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

हिमालयन डिस्टिलरीको पनि तीन करोड ४६ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ । एनआईसी एसिया बैंकको पनि ३ करोड रुपियाँभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ। यस दिन व्यापार, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा उपसमूहका परिसूचकहरू बढेका हुन्।

प्रतिक्रिया दिनुहोस्