महिला र दीर्घरोगीलाई घरैमा उपचार



विमल विष्ट, डोटी

स्थानीय तहले आफ्ना नागरिकलाई घरैमा उपचार सेवा दिने बेवस्था मिलाएका छन् । जिल्लाका नौवटै स्थानीय तह आफ्ना पालिकामा रहेका जेष्ठ नागरिक तथा गर्भवती महिला र दीर्घरोगीलाई छुट्टै स्वास्थ्य टोली परिचालन गरी एक महिनादेखि घरैमा निःशुल्क उपचार सेवा दिन थालेका छन् ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण स्वास्थ्य संस्थामा आएर आफ्नो स्वास्थ्य उपचार गराउन नसकेका जेष्ठ नागरिक तथा गर्भवती महिला र दीर्घरोगीलाई छुट्टै स्वास्थ्य टोली परिचालन गरी घरैमा उपचार सेवा दिन थालेको सुदूरपश्चिम गाउँपालिका महासंघका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

‘लकडाउनले उपचार गर्न नपाएर गाउँमा रहेका दीर्घरोगी र गर्भवती आमालाई निकै समस्या थियो, गाउँपालिकाका स्वास्थ्यकर्मीले घरैमा उपचार गर्न थालेपछि निकै सहज भएको छ ।’ –सायल गाउँपालिका–१ का स्थानीय तेजबहादुर सिंहले बताउनुभयो ।

गर्भवती आमा र जेष्ठ नागरिकले घरैमा स्वास्थ्य जाँच पाउन थालेपछि अहिले गाउँपालिकामा रहेका जेष्ठ नागरिक र गर्भवती महिला निकै खुसी छन् ।

स्थानीय तहले संयुक्तरूपमा निर्णय गरी स्वास्थ्य कर्मीहरूलाई गाउँ–गाउँमा खटाएर गाउँमा भएका जेष्ठ नागरिक र गर्भवती महिलाको अवस्था, बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गति, लगायत अन्य स्वास्थ्यको अवस्था, सरिरको अवस्थालगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्वजानकारी लिन एक थान पोर्टेबल भिडियो एक्स–रे मेसिनसहित अन्य उपकरण र औषधिको व्यवस्था गरेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

जिल्लाका अन्य पालिकाका स्वास्थ्यकर्मीसहित आफ्नो पालिकामा रहेका स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँ–गाउँमा गएर जेष्ठ नागरिकको अवस्था र गर्भवती महिला तथा गर्भमा रहेको बच्चाको स्वास्थ्य जाँच गर्न थालेको केआई सिंह गाउँपालिका स्थित दुर्गामाण्डौं स्वास्थ्यचौकीका अनमी गीता भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्