मृतकको रिपोर्ट नआउँदै दाहसंस्कार



बैतडी, (नेस)

क्वारेन्टाइनमा खाना पकाउने भान्सेको कोरोना रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आइतबार घर–परिवारले नै दाहसंस्कार गरेका हुन् ।

दशरथचन्द नगरपालिका–६ का ५३ वर्षीय मृतक ती व्यक्ति दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा २ महिनादेखि (भान्से) का रूपमा रहेका थिए ।

शनिबार घरमै एक्कासि बिरामी भएर अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएका ती व्यक्तिको आइतबार दाहसंस्कार गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तलाई दाहसंस्कारका लागि दिइएको हो । आवश्यक सुरक्षा सतर्कता अपनाएर, सुरक्षितरूपमा परिवारका निश्चित मान्छे सहभागी भएर दासंस्कार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

‘रिपोर्ट आउन समय लाग्ने भएपछि लास बिग्रने र घर–परिवारका मान्छेलाइ पनि चिन्ता हुने भएकाले दाहसंस्कार गर्न लगायौं ।’ – उहाँले भन्नुभयो ।

मृतकको कोरोना परीक्षणको स्वाब धनगढी पठाइएको छ । दशरथचन्द नगरपालिकामा हाल ३० जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्