शेयर बजार आजदेखि खुल्ने



काठमाडौं, (नेस)

तीन महिनादेखि बन्द रहेको शेयर बजार आजदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि बजार खुल्न लागेको हो ।

बोर्डले असार १५ गतेदेखि बजार सुचारु गर्न आइतबार नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले लकडाउन जारी गरेसँगै शेयर बजार बन्द रहेको थियो ।

बीचमा केही दिन बजार खुलेको भए पनि लगानीकर्ताको विरोधका कारण बजार पुनः बन्द गरिएको हो । वैशाख पहिलो साता दुई दिन खुलेका बेला नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि बजार बन्द गर्न दबाब आएको थियो ।

कोरोना कहर शुरू भएपछि शेयर बजार छोटो समयका लागि मात्रै खालिएको थियो । तर, निरन्तरको गिरावटपछि लगानीकर्ता बजार बन्द गर्नुपर्ने पक्षमा लगानीकर्ता देखिएका थिए भने अहिले लकडाउन खुकुलो भएसँगै शेयर बजार खुलाउनुपर्ने पक्षमा लगानीकर्ता छन् ।

नियमक निकायसँग बजार खुलाउन लगानीकर्ताले विभिन्न चरणमा छलफल गरी दबाब दिँदै आएका थिए । आर्थिक वर्ष अन्त्य हुनै लाग्दा हिसाब राफसाफ गर्ने बाध्यता रहेकाले बजार खोलाउ लगानीकर्ताले विशेष जोड दिँदै आएका थिए । बजार सुधार गर्नुपर्नेमा जोड दिँदै आएका लगानीकर्ता आर्थिक वर्षको समाप्ति नजिकँदै गर्दा दबाबमा परेका हुन् ।

लकडाउनले बजार बन्द हुँदा लगानीकर्ताको करिब १५ खर्ब रुपियाँबराबरको पुँजी स्थिर रहेको छ । पुँजी रोकिएर बस्ने तर बैंकको ऋण तथा ब्याज राफसाफ गर्नुपर्ने बाध्यता भएपछि ठूला लगानीकर्तालाई दबाब परेको थियो ।

‘कोरोनाको कहरले नेपालको अर्थतन्त्रलाई थिचेको अवस्थामा तीन महिनापछि खुल्ने पुँजी बजारले कस्तो लय समाउला भन्ने पर्खाइमा लगानीकर्ता रहेका छन् ।’ –एक स्कट ब्रोकरले नेपाल समाचारपत्रलाई बताए ।

बजार खुले पनि लगानीकर्तालाई विद्युतीय कारोबार गर्न प्रोत्साहित गरिने बोर्डले जनाएको छ । साथै ब्रोकर कार्यालयहरूले कार्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए बोर्डले कारबाही गर्नेछ ।

यसैबीच धितोपत्र बोर्डले पछिल्ला दिनमा भएको कार्यसम्पादनका फेहरिस्त सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र कारोबारको दोस्रो बजारलाई पूर्णरूपमा यान्त्रिकीकरण गर्न पनि प्रयास गरेको जनाएको छ । त्यस्तै सीडीएससीले शेयर खातामा रहेको शेयर ब्रोकरले परीक्षण गरी आदेश सम्पन्न गर्न प्रक्रिया चाल्ने र विद्युतीय माध्यमबाटै शेयर ट्रान्सफर हुने व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

नेप्सेलाई बैंक खाता र शेयर खाता समग्र कारोबार प्रणालीमा आबद्ध गरी शेयर लगानीकर्तालाई पूर्ण अनलाइन सेवा दिने व्यवस्था गरी जानकारी गराउन पत्राचार गरिएको उल्लेख गर्दै बोर्डको कदमले कोरानाका कारण धितोपत्र बजारमा परेका असर न्यूनीकरण भइ आगामी दिनमा धितोपत्रको दोस्रो बजार कारोबार सहजरूपमा सञ्चालन हुने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्