सञ्चालनमा आउँदै उद्योग, उत्पादित वस्तु भण्डारणमा समस्या



हेटौंडा, (नेस)
स्वास्थ्य सुरक्षाप्रति सतर्कता अपनाउँदै हेटाैंडा औद्योगिक क्षेत्रका अधिकांश उद्योग सञ्चालनमा आएका छन् । सरकारले लकडाउनको अवस्थामा ४२ किसिमका उद्योग सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि उद्योगहरू पुनः सञ्चालनमा आएका हुन् ।

औद्योगिक क्षेत्रका १ सय ११ उद्योगमध्ये बुधबारसम्म सयभन्दाबढी उद्योग पुनः सञ्चालनमा आएको उद्योग संघ मकवानपुर अध्यक्ष लेखराज पोखेरलले बताउनुभयो । ‘१०/११ वटा उद्योग कच्चापदार्थ अभावमा सञ्चालनमा आउन सकेका छैनन्।’ –उहाँले भन्नुभयो । सञ्चालनमा नआएका उद्योगहरू एक/दुई दिनभित्र पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

उद्योगको कच्चापदार्थ भारतलगायत तेस्रो मुलुकबाट आयात गर्नुपर्ने भएकाले पनि केही उद्योगमा कच्चापदार्थ अभाव छ । विगतमा उत्पादित वस्तु बजारमा पठाउन नपाएकाले उत्पादित वस्तुको भण्डारणको समस्या छ ।

पुनः सञ्चालनमा आएका अधिकांश उद्योगले आंशिकमात्र उत्पादन गरिरहेका छन् । ‘मजदुर र कच्चापदार्थ अभावले उद्योगहरू पूर्णक्षमतामा सञ्चालन हुन सकेका छैनन्’, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड प्रबन्धक राजेन्द्र कँडेलले भन्नुभयो– ‘उत्पादित वस्तु बजारमा जान सकेका छैनन् । बिस्कुट, खाद्य, दाना र डेरी उद्योगले राम्रोसँग उत्पादन शुरु गरेका छन् ।’

अन्य उद्योगले क्षमताको करिब ४० प्रतिशतमात्र उत्पादन गरेको संघ अध्यक्ष पोखरेलले बताउनुभयो । स्थानीय क्षेत्रका मजदुरबाट उद्योग सञ्चालन भइरहेका छन् । बाहिरी जिल्लाका मजदुरलाई कोरानाका कारण उद्योगले भित्र्याएको छैन ।

औद्योगिक क्षेत्रका केही उद्योगले ५÷७ जना कामदारबाट उद्योग सञ्चालन गरिरहेका छन् । लकडाउनका कारण उद्योग बन्द भएपछि बाहिरी जिल्लाका घर फर्के । हाल उनीहरूलाई उद्योग सञ्चालन गर्न उद्योगीले डाकेका छैनन् ।

बाहिरी जिल्लाका कामदार र कर्मचारीलाई उद्योगमा काम गर्न अनिवार्यरूपमा पीसीआर गर्नुपर्ने व्यवस्था छ । पीसीआर नगरेकालाई उद्योगमा प्रवेश नदिने व्यवस्था गरिएको संघ अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्