नेपाल मिडिया सोसाइटीद्वारा सर्जिकल मास्क वितरण



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल मिडिया सोसाइटीले ५० हजार थान सर्जिकल मास्क वितरण गरेको छ । सोसाइटीले बिहीबार चीनस्थित गुडविल फाउन्डेसन टिएआर पिपुल्स रिपब्लिक अफ चाइनाबाट सहयोगस्वरूप प्राप्त १८ लाख रुपैयाँ बराबरको मास्क वितरण गरेको हो ।

नेपाल मिडिया सोसाइटीमा आबद्ध २१ वटा संस्थालाई प्रतिसंस्था २ हजार मास्क र सूचना तथा प्रसारण विभागलाई ४ हजार थानका दरले मास्क हस्तान्तरण गरिएको सोसाईटीका अध्यक्ष शुभशंकर कँडेलले जानकारी दिनुभयो ।

विभागका महानिर्देशक लेखनाथ शर्माको प्रमुख अतिथ्यतामा नेपाल मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर क“डेलले उक्त मास्क वितरण गर्नुभएको हो । अध्यक्ष कँडेलले चिनियाँ सहयोगप्रति धन्यवाद व्यक्त गर्दै गुडविल फाउन्डेसनले प्रदान गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

उहाँले विगतका दिनमा पनि गुडविल फाउन्डेसनबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले कोरोनाका कारण आमसञ्चार क्षेत्रमा परिरहेको प्रभाव र विशेषतः श्रमजिवी पत्रकारहरूलाई परिरहेको असहजताप्रति ध्यान दिन सबैलाई आग्रह गर्दै मिडिया सोसाइटीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

मास्क वितरण कार्यक्रममा नेपाल मिडिया सोसाइटीका उपाध्यक्ष निर्मल गुरुङ, महासचिव मदन लम्साल, सचिव शिशिर भट्ट तथा सदस्यहरूको उपस्थिति थियो । गुडविल फाउण्डेसनको तर्फबाट अवश्यक परेमा नेपाल मिडिया सोसाइटीलाई थप मास्क तथा मेडिकल सामाग्री उपलब्ध गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्