सैनामैनाद्वारा बजेट सार्वजनिक



यमलाल भुसाल, बुटवल

रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

देशैभरि कोभिड–१९ को संक्रमण बढिरहेका बेला कोभिड नियन्त्रण लक्षित बजेट बुधबार एक समारोहबीच नगर उपप्रमुख बिना रानाले सार्वजनिक गर्नुभयो ।

जसअनुसार कुल विनियोजित बजेटमध्ये चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्यालय सञ्चालनलगायत प्रशासनिक खर्च र अन्य व्यवस्थापन समेतका लागि ४५ करोड ९४ लाख ८७ हजार ५ सय ४६ विनियोजन भएको छ भने पुँजीगत खर्चतर्फ कुल २४ करोड ८४ लाख ७ हजार विनियोजन गरिएको छ ।

उक्त बजेट गत वर्षभन्दा करिबव २० करोडले कमी हो । गत वर्ष नगर प्रमुख चित्रबहादुर कार्कीले ९१ करोड बढीको बजेट प्रस्तुत गर्नुभएको थियो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट प्राप्त अनुदान रु. ५६ करोड ९२ लाख ८७ हजार २ रुपियाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ५७ लाख, आन्तरिक स्रोतबाट १३ करोड ३१ लाख ९० हजार ५ सय ४४ आयको अनुमान गरिएको छ ।

नगर प्रमुख कार्कीले स्रोत साधनको सीमितता, कोभिड–१९ को महामारीको विद्यमान परिस्थिति, न्यून आयस्रोत र नगरवासीको उच्च आकांक्षालाई मध्यनजर गरी महामारीले नकरात्मक प्रभाव पारेका सामाजिक र आर्थिक क्षेत्रको पुनरउत्थान गरी समृद्धिको यात्रालाई जारी राख्न यो बजेट सार्थक हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसै गरी नगरेको क्षेत्रगत र भौगोलिक सन्तुलन कायम हुनेगरी दीर्घकालीन रुपमा प्रतिफल दिन सक्ने योजनाहरू कार्यान्वयन गर्न स्रोत, साधन, प्रविधि र जनशक्ति आदिको प्रभावकारी र कुशलरूपमा बजेटको उपयोग गर्ने रणनीति अवलम्बन गरेको प्रमुख कार्कीको भनाइ छ ।

नगर प्रमुख कार्कीले वडा नं. ११ को कञ्चन पुलको निर्माण सम्पन्न भएको, संघीय निर्वाचन क्षेत्र नं. २ र ३ जोड्ने कर्साघाट पुललाई निरन्तरता दिइएको, त्यसै गरी नगरको गौरवका रूपमा रहेको सैनामैना चक्रपथ क्षेत्रको ५० प्रतिशत सडक स्तरोन्नति सम्पन्न भइसकेको बजेटमा उल्लेख गर्नुभएको छ ।

कोभिड–१९ को महामारीका कारण शिक्षण सिकाइ क्रियाकलापवाट वञ्चित हुन पुगेका बालबालिकालाई वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्ने व्यवस्थाका लागि ८ लाख विनियोजन गरिएको छ भने कक्षाकोठामा गरिने शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई निरन्तरता दिँदै प्रविधिमैत्री शिक्षकबाट अन्य शिक्षकमा सीप हस्तान्तरण गर्ने व्यवस्थाका लागि ६ लाख ४० हजार विनियोजन गरेको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्