होटल वा स्थानीय तहको क्वारेन्टाइन ?



हेटौंडा, (नेस)

कतारबाट स्वदेश फर्केपछि बस्ने क्वारेन्टाइनबारे स्पष्ट खुलाउनुपर्ने भएको छ । स्वदेश फर्केपछि होटल क्वारेन्टाइन वा स्थानीय तहको क्वारेन्टाइनमा बस्ने भन्नेबारे फाराम भर्दा स्पष्ट खुलाउनुपर्ने भएको हो । होटल क्वारेन्टाइनमा बस्नेले होटलको विवरण पनि दिनुपर्ने भएको छ ।

कतारबाट हेटौंडा फर्कने तयारीमा रहेका युवालाई नेपाली राजदूतावास दोहा, कतारले होटल क्वारेन्टाइनमा बस्ने भए होटलको नाम, ठेगानासहित विवरण उपलब्ध गराउन भनेको छ ।

यसअघि हेटौंडा उपमहानगरपालिकाले विदेशबाट फर्केर स्थानीय तहको क्वारेन्टाइनमा बस्नेलाई क्वारेन्टाइनको व्यवस्था गर्ने जनाएको थियो । प्राप्त जानकारीअनुसार स्थानीय निकायको क्वारेन्टाइनमा बस्नेलाई प्रतिदिन सरकारका तर्फबाट १ सय ७५ रुपियाँ बराबरको खानाको व्यवस्था गरिएको छ ।

हेटौंडाका विभिन्नस्तरका १० वटा होटललाई क्वारेन्टाइन बनाइने भएको हो । विदेशबाट फर्किएकाले प्रयोग गर्ने गरी शुल्क तिरेर बस्नका लागि मकवानपुर होटल एसोसिएसनले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने टिमलाई क्वारेन्टाइनमा प्रयोग गरिने १० वटा होटलको सूची दिएको छ ।

बिहान र बेलुकाको खाना, बिहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यवस्थासहित सेवाग्राहीलाई प्याकेज सेवा दिने गरी हेटौंडाका १० होटलका २ सय ५ कोठा प्रयोगमा ल्याइने भएको छ । एट्याच्ड बाथरुमसहित प्रथम श्रेणीका ५८ वटा, द्वितीय श्रेणीका १ सय २२ र तृतीय श्रेणीका २५ कोठा क्वारेन्टाइनका लागि उपलब्ध गराइनेछ ।

होटलमा बस्न आउने कम्तिमा १० जनाको समूह हुनुपर्ने र सेवाग्राहीले पूर्वभुक्तानीको व्यवस्था गर्नुपर्ने मकवानपुर होटल एसोसिएसन अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनुभयो ।

प्रथम श्रेणीका होटलमा एउटा कोठामा बस्दा एक जनाको २ हजार ५ सय र दुई जनाको ३ हजार ५ सय रुपियाँ र द्वितीय श्रेणीका होटलमा एउटा कोठामा एक जना बस्दाको १ हजार ७ सय र दुई जना बस्दा २ हजार ५ सय रुपियाँ एक दिनको प्याकेजसहित तय गरिएको छ ।

एक दिन बसेबापत तृतीय श्रेणीको होटलमा दुई जनाको १ हजार ८ सय र एक जनाको १ हजार २ सय रुपियाँ शुल्क सेवाग्राहीले तिर्नुपर्नेछ । सरकारी क्वारेन्टाइनमा बस्न नचाहने र शुल्क तिरेर बस्न चाहनेका लागि होटलमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्