साढे ३ लाखकोे सामग्री बरामद



नेपाल समाचारपत्र, बैतडी

बजार अनुगमन गर्दा बैतडीमा साढे ३ लाख बढीको सामग्री बरामद गरी नष्ट गरिएको छ । बन्दाबन्दीमा म्याद नाघेका अखाद्य सामग्री बिक्री–वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको हो ।

जिल्लास्थित सरोकारवालाको संयुक्त टोलीले बजार अनुगमन गर्दा २ लाख ४० हजार बढीको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो ।

यस्तै १ लाख ३० हजार बढीको चिसो पेय पदार्थ बरामद गरी नष्ट गरिएको लेखकको भनाइ छ । म्याद सकिएको चिसो पेय पदार्थ नष्ट गरिएको हो ।

धेरै ठाउँमा पीठो, सोयाबडीलगायत अन्य खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । दर्ता नभएका पसललाई दर्ता गर्न आग्रह गरिएको छ भने समान खरिद–बिक्री गर्दा मिति हेरेर मात्र खरिद–बिक्री गर्न टोलीले आग्रह गरेको छ ।

गत हप्तादेखि शुरू भएको अनुगमनमा अहिलेसम्म गोठलापानी, गढी, शाहीलेक, देहीमाण्डौ, गुरुखोला, मुस्याचोर, पाटनलगायतका क्षेत्रमा बजार अनुगमन गरिएको छ ।
उपभोक्ता अधिकारका विषयमा व्यापारी र नागरिकहरूलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख लेखकले बताउनुभयो ।
अझै पनि उपभोक्ता तथा व्यापारीमा सचेतना नभएका कारण म्याद नाघेका सामग्रीको बिक्री–वितरण हुँदै आएको छ । जिल्लाका स्थानीय तहमा रहेका मुख्य–मुख्य बजार सबैमा अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्