प्युठानमा रिपोर्ट नआउँदै संक्रमित घर पुगे पछि…



????????????????????????????????????

सलिम अन्सारी,प्युठान ।

प्युठानमा थप २३ जनामा कोरोना पुष्टि भएको छ।
राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको स्वाव परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए ।

त्यस मध्ये दुई जना स्वास्थ्यकर्मी हुन। उनिहरु २ देखि ५५ बर्ष उमेर समुहका छन।
प्युठानमा सोमबार कोरोना संक्रमण पुष्टि भएकाहरूलार्ई यसअघि नै क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ ।
लकडाउनको समयमा भारतबाट घर आइपुगेका २१ जनालाई प्युठान नगरपालिका– ३ स्थित सरस्वती प्राबी सेपुङको क्वारेन्टाइनमा राखिएको थियो ।

आईतबार उनीहरुलाई रिपोर्ट आउन ढिला भएको भन्दै घर पठाईएको थियो । ‘स्वाब लिएर परीक्षणका लागि पठाएका २१ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरि घर पठाएका हौँ’ प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले भने, ‘लक्षण पनि नदेखिएको र क्वारेन्टाइनमा बसेको २७ दिनभन्दा बढी भएकाले घर पठाएका हौं ।’

उनीहरु आइतबार घर गएका थिए । तर भोलिपल्ट सोमबार उनिहरुलाई कोरोना संक्रमण भएको रिपोर्ट आयो । हिजो आईतबारको रिपोर्टमा समेत सोही क्वारेन्टाईनमा बसेका ३ जनाका कोरोना पोजिटिभ देखिएको थियो।

यसबाहेक परिवारका सदस्य र उनिहरुले भेटघाट गरेका व्यक्तिहरुको खोजी गरिने प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिएका छन् । घर पठाइएकाको रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकाले हतार हतार संक्रमितहरूलाई घरबाटै उठाएर फेरी क्वारेन्टिन ल्याएको छ ।

रिपोर्ट नआउँदै क्वारेन्टाईनबाट घर पठाउदा गाँउघरमा थप संक्रमण फैलन सक्ने भन्दै सरोकारवाला थप गंभिर हुन स्थानियले आग्रह गरेका छन ।

प्युठान नगरपालिका ७ दिनसम्मका लागि शिल

यसैविच,प्युठान नगरपालिकालाई ७ दिनसम्मका लागि शिल गरिएको छ ।

नगरपालिकामा सोमबार एउटै गाउंका २१ जना सहित २३ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका शिल गरिने भएको हो ।

सोमबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी ७ दिनसम्मका लागि नगरलाई नै शिल गर्ने निर्णय गरेको नगरप्रमुख कक्षपतीले जानकारी दिए ।

उनले अत्यावश्यकीय सेवा बाहेक अन्यको हकमा प्युठान प्रवेश गर्ने र बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको उनले जानकारी दिए ।

जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै नगरपालिकामा पनि सङ्क्रमित थपिन थालेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख कक्षपतीले बताए । यो संगै प्युठानमा कोरोना संक्रमितको संख्या १२४ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्