सिपाही बने जीवनभरिका लागि अपाङ्ग



विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा रहेका गुरुवा (प्रशिक्षक) ले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा शनिबार बिहान एक जना तालिमे सिपाही जीवनभरिका लागि अपाङ्ग भएका छन् ।

प्राप्त जानकारीअनुसार बैतडी जिल्ला घर भएका २२ वर्षीय तालिमे सिपाही जितेन्द्र चन्दलाई प्रशिक्षकले आफ्नो निजी मोटरसाइकल धुन लगाउँदा मोटरसाइकलको चैनमा उहाँको दाहिने हातको औंला परेपछि पूरै आंैला छिनेको (काटिएको) छ ।

औंला छिनेपछि बेहोस भएका चन्दलाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । चन्दको दाहिने हातको औंला छिनेका कारण जोड्न नसकिने र जीवनभरिका लागि उहाँ अपाङ्गसरह भएको उपचारमा संलग्न अस्पतालका चित्किसकहरूले बताएका छन् ।

दाहिने हातको औंला प्रहरीको सलामी दिने तथा फायरिङ गर्नेदेखि अन्य काममा बढी प्रयोग हुने भएकाले उहाँलाई भविष्यमा निकै समस्या उत्पन्न हुने स्वयं प्रहरी अधिकारीहरू बताउँछन् ।

उक्त तालिम केन्द्रका प्रशिक्षक तथा अधिकृतको लापरबाही तथा व्यक्तिगत सर–सामान तालिमे सिपाहीलाई धुन लगाउने तथा सफाइ गर्न प्रयोग गर्ने गरेका कारण तालिमे प्रहरी जवानको औंला काटिएको आरोप लागेको छ ।

आफ्नो नाम नछाप्ने सर्तमा तालिम केन्द्रका एक जना प्रहरीले नेपाल प्रहरीको नीति, नियम तथा नियमावलीअनुसार दाहिने हातको औंला काटिएका कारण निज तालिमे सिपाही प्रहरी सलामी दिने कार्यमा अपाङ्गका रूपमा गनिने बताउनुभयो ।

उहाँले भन्नुभयो,– ‘जागिर अवधिमै औंला काटिएकाले निजको जागिर कायम रहन्छ तर सलामीदेखि अन्य कुरामा उनलाई समावेश गरिँदैन अपाङ्गसरह गनिन्छन् ।’

उता सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख तथा प्रहरी वरिष्ठ अधिकृत प्रदीपकुमार श्रेष्ठले गुरुवाहरूको असावधानी र लापरबाहीले दुःखद घटना भएको स्वीकार गर्नुहुँदै दोषीलाई कारबाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘लापरबाहीका कारण एउटा योग्य जवान जीवनभरिका लागि अयोग्य भएको छ, घटनाको छानबिनका लागि टोली गठन गरेको छु, दोषी जति सबैलाई कारबाही हुन्छ ।’ ती सिपाहीले कुन गुरुवाको मोटरसाइकल धुँदै थिए त्यो भने उहाँले खुलाउन चाहनु भएन ।

प्रतिक्रिया दिनुहोस्