पहिरोले जिप पुरिँदा १ को मृत्यु



गुल्मी, (नेस)

पहिरोले जिप पुरिँदा १ जनाको मृत्यु भएको छ । शनिवार अपराह्न जिल्लाको धुर्कोट गाउँपालिका–३ हर्रापाटा भन्ने स्थानमा ग१ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएर १९ वर्षीय सुरज काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताउनुभयो ।

जिप जिल्लाको मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो । जिप पहिरोमा पुरिएर ५ जना घाइते भएका छन् ।

घाइते चालक र जिपमा सवार १ जनाको अर्घाखाँचीको सन्धिखर्कमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरी निरीक्षक रावलको भनाइ छ ।

घटना स्थलतर्फ इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोली लागेकाले थप विवरण आउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्