गण्डकी प्रदेशको बजेट समयसापेक्ष आएन : अर्थविद



भूपराज बस्याल, स्याङ्जा । 

गण्डकी प्रदेश सरकारले जारी गरेको बजेट समय सापेक्ष नभएको आरोप अर्थ बिज्ञहरुले लगाएका छन् । आर्थिक समाज नेपालले आयोजना गरेको अनलाइन छलफलमा बिज्ञहरुको यस्तो भनाइ आएको हो ।

प्रदेश सरकारले बजेट सार्वजनिक गर्नुभन्दा पहिले बजेटमा समेट्नुपर्ने बुदाहरु लिखित रुपमा बुझाएको आर्थिक समाज नेपालले प्रदेशको बजेटको समिक्षाको लागि विभिन्न अर्थ बिज्ञहरुको उपस्थितिमा अनलाइन अन्तरक्रियाको आयोजना गरेको थियो । उक्त अनलाइन छलफलमा प्राध्यापक डाक्टर यदब शर्मा गौडेल, प्राध्यापक गेहेन्द्रेश्वर कोइराला, जनप्रीय क्याम्पसका अर्थशास्त्र बिभाग प्रमुख उप प्राध्यापक रमेश खड्का प्राध्यापक कुन्जराज थापा, आर्थिक समाज नेपालका अध्यक्ष कृष्ण लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमम प्राध्यापक डाक्टर यदब शर्मा गौडेलले लगभग सबै प्रदेशको बजेट एकैप्रकारको आएको भन्दै हाल कोरोना महामारीमा जिबन रक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । बजेटको आकार ठूलो भन्दापनी यसको कार्यनयन पक्ष ठूलो हुने भन्दै विगतका बर्षमा भन्दा यस बर्ष कृषि क्षेत्रमा पनि बजेटको आकार सागुरो पारिएको उहाँले गुनासो गर्नुभयो । हालको बजेटले स्वास्थ्यलाई बढी प्राथमिकता दिनुपर्ने र त्यसपछि को प्राथमिकता कृषिमा हुनुपर्नेमा त्यसको हुन नसक्नु दुस्खद कुरा रहेको बताउनुभयो । नेपालमा रोजगारी सिर्जना गर्ने बलियो आधार कृषि क्षेत्र भएको हुँदा यो कोरोना भाइरसको महामारीबाट उत्पन्न हुने बेरोजगारलाई ब्यबस्थापनगर्न पनि कृषि क्षेत्रमा बजेट बढाउनुपर्नेमा विगतका बर्षमा भन्दा यस बर्ष बजेट घट्नु दुस्खद कुरा रहेको उहाँको तर्क थियो ।

त्यस्तै प्राध्यापक गेहेन्द्रेश्वर कोइरालाले कोरोनाको महामारीले उत्पन्न हुने बेरोजगारीलाई हालको बजेटले समेट्न नसकेको आरोप लगाउनुभयो । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सरकारी तथ्यांक ४५ लाख भएपनि वैदेशिक रोजगारीको सिलसिलामा करिब ६० लाख नेपाली बाहिर रहेको अनुमान गरिएको छ । यस मध्य सात लाख मात्रै फर्किने अर्थ मन्त्रालयले बताइरहेकाबेला बिज्ञहरुले २५ देखि ३० लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको पाइन्छ । नेपालमा बार्षिक उत्पादन हुने करिब पाँचलाख श्रमिक शक्ति र बिदेश बाट फर्किएको श्रम शक्तिहेर्दा करिब ३० देखि ३५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने हुँदा यस्तो गम्भीर बिषय बजेटमा समेट्न नसकेको हुँदा अहिलेको बजेट समय सापेक्ष नभएको उहाँको तर्क थियो । अन्य विकसित देशको तथ्यांक हेर्दा उधोग पछि कृषिलाई जोड दिइएको पाइन्छ तर नेपालमा भने रोजगारीका क्षेत्र कृषि र उधोगमानै बजेटमा प्राथमिकतामा पर्न नसकेको उहाँको तर्क थियो ।

प्राध्यापक कुन्जराज थापाले सरकारले नागरिकलाई जिउने आधारमाहरु निर्धारण गर्नुपर्ने भन्दै जनताकोलागि अन्य राहत भन्दा रासनकार्ड बनाएर राहत दिनुपर्नेमा जोड दिनुभयो । सरकारले नागरिक प्रति उत्तरदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै यता तर्फ ध्यानदिनुपर्ने उहाँको जोड थियो ।

त्यस्तै जनप्रीय क्याम्पसका अर्थशास्त्र बिभाग प्रमुख उप प्राध्यापक रमेश खड्काले नेपालमा प्रचुर सम्भावना बोकेको पर्यटन क्षेत्र हालको कोरोना भाइरसका कारण नराम्रो असरमा परेको हुँदा उक्त क्षेत्रको लागि कुनै राहतको प्याकेज घोषणा नभएको उहाँको तर्फ थियो । विभिन्न बिज्ञहरुसंगको छलफल पछि प्रदेश सरकारले बजेट जारी गर्नुभन्दा पहिलेनै सुझावहरु बुझाएको भन्दै ती सुझाव अनुसार अर्थिक क्षेत्रलाई अगाडि बढाउन सके हालका अधिकास समस्य समाधान हुने आर्थिक समाज नेपालका अध्यक्ष कृष्ण लामिछानेको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्