विकट गाउँका सबै वडामा हेलिप्याड, अब चाहिएन डोको र स्ट्रेचर



न्युज अफ नेपाल, हेटौंडा ।

हुन त गाउँमा शिक्षा र यातायातलगायत क्षेत्रमा समस्या छन् । ती समस्याको चाङमा बिरामीको रक्षा एक प्रमुख प्राथमिकतामा परेको छ ।

डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपर्ने बाध्यताबाट मुक्तिका लागि बिकट गाउँको एक गाउँपालिकाले नयाँ उपाय रचेको छ–हेलिप्याड । स्थानीयको आर्थिक अबस्था अत्यन्त कमजोर रहेको बिकट उक्त गाउँमा यातायातको असुबिधाका कारण अझै पनि डोकोमा बिरामी बोक्ने गरिन्छ ।

गाउँमै उपचार सम्भव नहुने बिरामी र गर्भवतीलाई बाहिर लैजानुपर्ने बाध्यता परेको बेला समयमै अस्पतालसम्म लैजान गाउँपालिकाले यस्तो प्रयास गरेको हो । टाढा लैजाँदै गर्दा गाउँका कतिपयको बाटोमै मृत्यु हुने गरेको तीतो पीडाबाट मुक्तिका लागि हेलिकोप्टरको व्यबस्था गर्न हेलिप्याड नै बिकल्प बनेपछि गाउँपालिका यसतर्फ अगाडि बढेको थियो ।

तत्काल आमजनताको स्वास्थ्य दैनिकीसँग जोडिएका कुरामा बढी ध्यान दिन हेलिप्याड बनाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

भौगोलिकरुपमा बिकट राक्सिराङमा नागरिक बिरामी परे उचित स्वास्थ्य सेवाका लागि सदरमुकाम हेटौंडा ल्याउनुपर्ने बाध्यता छ । तर, वर्षाका कारण सडक बिगिँ्रदा बिरामीलाई हेटौंडासम्म ल्याउन निकै सकस पर्ने गरेको छ । राक्सिराङ मकवानपुरको ‘ख’ वर्गमा परेको एकमात्र बिकट गाउँपालिका रहेको भन्दै अध्यक्ष मल्लले दुःख व्यक्त गर्नुभयो ।

‘हाम्रोजस्तो बिकट गाउँमा स्वास्थ्य क्षेत्र सुधार गरे राम्रो सन्देश जान्छ,’ अध्यक्ष मल्लले भन्नुभयो–जनताका आधारभुत स्वास्थ्य आबश्यकता परिपूर्तिपछि मात्र अन्य कुरा बनाउन उपयुक्त हुने हाम्रो विचार छ ।

गाउँपालिका क्षेत्रमा गतिलो स्वास्थ्यसेवा प्राप्त हुने नभएकोले नागरिकलाई बेलैमा स्वास्थ्य उपचारमा सहजताका लागि हेलिप्याड निर्माण गर्नुपरेको अध्यक्ष मल्लले बताउनुभयो । वर्षामा कच्ची बाटो बिग्रिएर नागरिकले कष्ट खेपिरहेका हुन्छन्, बिरामीलाई अस्पतालसम्म लैजानसक्ने अबस्था नदेखिएपछि वडामा हेलिप्याड बनाउने निर्णय गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाका नागरिकलाई समयमै स्वास्थ्य सुविधा उपलब्धताका लागि ९ वटै वडामा हेलिप्याड बनाउने गरी काम तीव्रगतिमा अघि बढाइएको छ । ७ वटा वडामा हेलिप्याड बनिसकेको छ । २ वटा वडामा निर्माण काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उपलब्ध ढुंगा, गिट्टी र बालुवालगायत कच्चा सामग्री र स्थानीय जनशक्ति प्रयोग गरेर हेलिप्याड निर्माण गरिएको हो । हेलिप्याड निर्माणका लागि गाउँपालिकाले स्थानीय स्रोतसाधन र जनशक्ति परिचालन गरेको छ । एउटा हेलिप्याड निर्माणका लागि करिब ५० हजार खर्च भएको बताइएको छ ।

निरन्तरको वर्षासँगै सडकको अबस्था अस्तव्यस्त भएपछि ग्रामीणबासी डोकोमा बिरामी बोक्न बाध्य छन् । वर्षामा उक्त क्षेत्रका ग्रामीण भेगमा सवारीका कुनै पनि साधन चल्न सक्दैनन् । गाउँका बासिन्दा बिरामीलाई अस्पतालसम्म लैजान डोकोमा बोक्नुपर्ने बाध्यतामा छन् ।

स्थानीयका अनुसार गाउँमा बिरामी पर्दा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यतासँगै गाईबस्तुलाई उपचार गराउन पनि समस्या छ । बिरामी पर्दा स्ट्रेचर र डोकोमा बोकेर अस्पताल लैजाने गरिएको स्थानीय सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्