कारागारको जिम्मा सेनालाई



भद्रपुर, (नेस)
झापा कारागार भद्रपुरको सुरक्षामा नेपाली सेना खटिएका छन् । कारागारको सुरक्षामा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो ।

चारआरालीस्थित नयाँ श्रीनाथ गणबाट खटिएका नेपाली सेनाले कारागारको जिम्मा लिएको बताइएको छ ।
भारतसँगको सीमानाकामा हुने भीड नियन्त्रण तथा क्वारेन्टाइनको सुरक्षामा प्रहरी केन्द्रित भएकाले कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिअन्तर्गत बाहिरी सुरक्षा सेनाले गर्ने र प्रहरीले आन्तरिक अत्यावश्यक काम समन्वय गरी मिलाइने नयाँ श्रीनाथ गणका कर्णेल अमरजंग थापाले जानकारी दिनुभयो ।

कारागारमा रहेका प्रहरीले कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने–ल्याउने, भेटघाटको व्यवस्थापन गर्ने बताइएको छ । हाल कारागारमा महिला तथा पुरुष कैदीबन्दी गरी १ हजार १ सय ४० जना रहेका छन् । यसअघि झापामा नेपाली सेनाको टोली काँकडभिट्टाको सीमानाका, कचनकवल, भद्रपुरको मेची क्याम्पस र कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेन्टाइनमा खटाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्