कोरोनाका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व बढाउने



टंकराज अधिकारी,पोखर।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिदै उत्पादन र उत्पादकत्व बृद्धि गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाद्वारा आज यहाँ आयोजित एक कार्यक्रमकाबीच आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज कुँवरले कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवाहरुलाई अवसरको रूपमा उपयोग गर्दै  उनीहरुको अनुभव सिप क्षमताको समुचित प्रयोग गरी उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण, उद्योग र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागि गराई रोजगारका अवसर सृजना गरिने बताउनुभयो ।

कृषि क्षेत्रको विकास र प्रवर्द्धन गर्न गाउँपालिका भित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा  घोषणा गर्दै आधुनिक तरिकाले कृषिलाई व्यवसायिकरण गर्न प्रोत्साहित गरिने गाउँपालिकाले नीति लिएको छ ।

‘खाना नफालौ’ कार्यक्रम  विशेष अभियानका रूपमा

स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवम् संरक्षण गर्ने र कुनैपनि प्रकारका खानेकुरा खेर नफाल्न गाउँपालिकावासीलाई सचेतना अभिवृद्धि गर्न खाना नफालौ कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।

गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाई र भैसी’ कार्यक्रम अभियानका रूपमा  सञ्चालन गर्ने नीति लिएको छ ।
पर्यटकीय गन्तव्यको प्रर्वद्धन गर्न गाउँपालिकास्तरीय पर्यटन गुरुयोजना निर्माण गर्नुका साथै पर्यटकीय पूर्वाधार निर्माणका लागि डिपिआर तयारी गर्ने एवम् यस क्षेत्रको प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटी डकुमेन्ट्री फिल्म निर्माण गरी पर्यटकीय सम्भावनाको प्रचार प्रसार, संरक्षण र प्रवर्द्धन गरिने जनाइएको छ ।

नेपालको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र एवम् गन्तव्यको रूपमा  रहेको  घान्द्रुकलाई सांस्कृतिक गाउँको रूपमा  घोषणा गर्न आवश्यक पूर्वाधार संरचना निर्माण गरी परम्परागत सांस्कृतिक गाउँको पहिचान कायम गर्ने नीति लिइने गाउँपालिकाले भनेको छ ।

गाउँपालिकाभित्र स्थापना भएका सहकारीको गुणस्तर र प्रभावकारितालाई नियमन, अनुगमन र सहकारी  शिक्षामा जोड दिदै सहकारी दर्ता प्रक्रियालाई सहज र सरल तुल्याइने अध्यक्ष कुँवरले बताउनुभयो । एक गाउँ एक सडक निर्माण कार्यलाई निरन्तरता दिई अधुरा सडक ट्रयाकको पूर्णताका साथै गाउँपालिका केन्द्र एवमं मध्य पहाडी लोकमार्गदेखि वडा केन्द्र जोड्ने रणनीतिक महत्वका सडकहरु स्तरोन्नती गरी बाह्रै महिना सञ्चालन हुने अवस्थामा ल्याइने अध्यक्ष कुँवरले बताउनुभयो ।

अन्नपूर्ण पोलिटेक्निकल इन्स्टिच्युटका लागि आवश्यक जग्गा उपलव्ध गराई सञ्चालनका लागि आफ्नै भवन निर्माण कार्य अगाडि बढाइने गाउँपालिकाले भनेको छ । शिक्षकको मनोवल उच्च राख्न ‘शिक्षकलाई सम्मान गरौ, बालवालिकालाई माया गरौ’ भन्ने आदर्शलाई प्रथामिकतामा राखी शिक्षण पेसालाई सम्मानित र मर्यादित पेसाका रूपमा विकास गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।

संक्रामक रोग, महामारी तथा दैबी प्रकोप जस्ता समस्यामा पनि शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन दूर तथा बैकल्पिक शिक्षा कार्यक्रमलाई प्रयोगमा ल्याइने भनिएको छ । विद्यालय प्राथमिक स्वास्थ्यसेवा कार्यक्रम विस्तार गर्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको थालनी गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।

आगामी दुई बर्ष भित्रमा खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभुत स्तरको खानेपानी पुर्याउन संघ, प्रदेश सरकार र अन्य गैर सरकारी संघसंस्था सँगको साझेदारीमा ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिई सम्पन्न गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

गाउँपालिका अन्तर्गतका पुरातात्विक महत्वका मठ, मन्दिर, पाटी, पौवा, कुवा, पोखरी, चौतारी, विश्राम स्थलहरु र त्यसको महत्वसँग जोडिएका रुख विरुवाहरुको संरक्षण गरी यस्ता स्थानहरुमा वर, पिपल, समी लगायतका विरुवा रोपण गर्ने नीति लिइएको छ ।

कोरोना लगायतका महामारीजन्य रोगहरुबाट सुरक्षित रहन जनप्रतिनिधि, कर्मचारी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक परिचालन गर्दै सचेतनाका कार्यक्रम सञ्चालन गरी सावधानीका उपाय अबलम्वन गरिने गाउँपालिकाले जनाएको छ । कोरोना सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सिप, अनुभवलाई प्रयोग गरी  स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उहाँले बताउनुभयो ।

सेवा प्रवाह गर्ने स्थल संक्रमणको माध्यम नबनोस भन्ने  तथ्यप्रति सचेत हुँदै सार्वजनिक सेवा प्रवाहलाई कागज रहित बनाई  विद्युतिय शासन पद्धतिको क्रमश लागु गर्दै जाने नीति अबलम्बन गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।

स्थानीय तहलाई प्राप्त राजश्व सम्बन्धी अधिकारको प्रयोग गर्दै गाउँपालिकालाई आर्थिक रूपमा  समृद्ध एवम् आत्मनिर्भर बनाउन राजश्वका सबै संभावना र क्षेत्रको खोजी गर्दै प्रगतिशील र समतामूलक ढंगले करका दर निर्धारण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अपाङ्गता भएका व्यक्ति, एकल तथा विधवा महिलालाई जुनसुकै प्रकारको व्यवसाय सञ्चालन गर्दा व्यवसाय दर्ता करमा ५० प्रतिशत छुट दिइने नीति लिइएको छ । कोरोना भाइरसका कारण लामो समयसम्म बन्दाबन्दी भई पर्यटन व्यवसाय तथा अन्य व्यापार व्यवसाय सञ्चालन नभएकोले सम्पूर्ण व्यवसायहरुको आ.ब. २०७६÷०७७ को बक्यौता रकममा  लाग्ने  जरिवानामा  पूर्ण छुट दिइने गाउँपालिकाले भनेको छ ।

‘अन्नपूर्ण समृद्धिको लागि नियमित तिरौं करः तिरेको कर विकास मार्फत फर्किन्छ घर घर’ मान्यताकासाथ प्रत्येक वर्ष सबै वडामा करदाता शिक्षा कार्यक्रम तथा घुम्ती कर सङ्कलन सप्ताह अभियानका रूपमा  सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

संघ र प्रदेश सरकारको समन्वयमा गाउँपालिकाभित्र खेलकुदका पूर्वाधार निर्माण, विकास साथै स्तरोन्नती गरिने बताउँदै अध्यक्ष कुँवरले ‘एक वडा एक खेलमैदान’ निर्माण गरिने बताउँदै माछापुच्छ्रे खेल मैदानलाई स्तरोन्नती गरी राष्ट्रियस्तरको खेल मैदानको रूपमा विकास गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्