व्यापार घाटा १४ प्रतिशतले घटेर ९ खर्ब ४३ अर्बमा सीमित



  • न्युज अफ नेपाल,काठमाडौं ।

चालू आर्थिक वर्षको दश महिनामा कुल वस्तु व्यापार घाटा १४ दशमलव २ प्रतिशतले घटेर ९ खर्ब ४३ अर्ब ७ करोड रुपियाँ भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १९ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६ दशमलव ७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७६/७७ को दश महिनामा कुल वस्तु निर्यात ४ दशमलव ५ प्रतिशतले वृद्धि भई ८२ अर्ब ६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १६ दशमलव १ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८ दशमलव ६ प्रतिशत र १४ दशमलव ६ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एम।एस। पाइप, लगायतका वस्तुको निर्यात बढेको छ ।
त्यस्तै जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैंचा, जुसलगायतका वस्तुको निर्यात घटेको छ ।

सो अवधिमा कुल वस्तु आयात १३ प्रतिशतले घटेर १० खर्ब २५ अर्ब १४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दशमलव ६ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७ दशमलव ५ प्रतिशत, ७ दशमलव ६ प्रतिशत र २ दशमलव ९ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेललगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ ।

त्यस्तै निर्याततर्फ वीरगन्ज, विराटनगर र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

प्रतिक्रिया दिनुहोस्