१२७ होटल क्वारेन्टिन बनाइने



नेपाल समाचारपत्र, काठमाडौं

क्वारेन्टिन बनाउनका लागि काठमाडौंलगायत विभिन्न शहरमा रहेका १ सय २७ होटलको नाम सिफारिस भएको छ । होटल संघ नेपाल (हान)ले क्वारेन्टाइन बनाउनका लागि सरकारलाई १ सय २७ वटा होटलको नाम दिएको हो ।

काठमाडौं, भैरहवा र चितवनमा क्वारेन्टिमा बनाउन मिल्ने होटलको नामावली सिफारिस गरिएका छन्, जसमध्ये पर्यटकस्तरीय होटलदेखि तारे होटलसम्मको नामावली समावेश गरिएको छ । न्यूनतम २ हजार रुपियाँदेखि ८ हजार रुपियाँ मूल्य तोकिएको हानले जनाएको छ ।

जसअनुसार पर्यटकस्तरीय होटलको सिंगल रुमको ३ हजार, शेयरिङ रुमको २ हजार रुपियाँ तोकिएको छ । त्यस्तै, एकतारे होटलका सिंगल रुमको ४ हजार, सेयरिङ रुमको २ हजार ५ सय रुपियाँ तोकिएको छ ।

त्यसैगरी २ तारे होटलको सिंगल रुमको ४ हजार, सेयरिङ रुमको ३ हजार ५ सय रुपियाँ तोकिएको छ भने ३ तारे होटलमा सिंगल रुमको ६ हजार र शेयरिङ रुमका लागि ५ हजार रुपियाँ तोकिएको छ । त्यसैगरी ४ तारे होटलमा क्वारेन्टिनका लागि सिंगल रुमको ८ हजार रुपियाँ र शेयरिङ रुमको ५ हजार ५ सय रुपियाँ तोकिएको छ ।

यसअघि सरकारले जारी गरेको निर्देशिकामा स्वास्थ्यकर्मी क्वारेन्टिनमा राख्नका लागि प्रतिदिन प्रतिव्यक्ति २ हजार रुपियाँ उपलब्ध गराउने भनेको थियो । उक्त मूल्यमा क्वारेन्टिनका लागि कोठा उपलब्ध गराउन नसक्ने हानले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्