लकडाउन खुकुलो भएपछि यस्ताे भने उद्योगीले



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै उद्योगी व्यवसायी खुशी भएका छन् । उद्योगी व्यवसायीहरुले आफुहरुले दुई साता यता लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको अवस्थामा सरकारले चरणवद्ध रुपमा आर्थिक क्रियाकलापलाई सञ्चालन गर्ने निर्णय गर्नु सकारात्मक भएको बताएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारले पछिल्लोपटक गरेको निर्णय उद्योगी व्यवसायीको हितमा रहेको बताउनुभयो ।

‘इकोनोमीलाई विभिन्न जोनहरु बनाएर हुन्छ कि रेडजोन, ग्रिन जोन, यल्लो जोन ओरेन्ज जोन जस्तो बनाएर जहाँ–जहाँ कम समस्याहरु छन त्यहाँ खुकुलो नगरी सुख छैन भनेर हामीले विगतमा धेरैवटा कमिटिहरुमा, उच्चस्तरीय समन्वय समितिमो कुरा राखेका थियौं।

त्यसको फलस्वरुप नै क्याबिनेटले निर्णय गरेर केही खुकुलो गरेको छ । अझ पनि के सुनेको छ भने तीनवटा चरणमा गर्ने पहिलो, दोस्रो र तेस्रो । अब त्यसमा जोर बिजोरको कुरा, पसलहरु खोल्ने कुरा आइसकेको छ ।

एउटा समय सान्दर्भिक हो र नेपाल उद्योग परिसंघले यसलाई धेरै सकारात्मक रुपले लिएको छ’, उहाँले भन्नुभयो ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य प्रोटोकल अपनाएर सबै क्षेत्रलाई सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान गर्न गरेको पछिल्लो निर्णय सकारात्मक भएको बताउनुभयो ।

उहाँले अर्थतन्त्रलाई माथि उकास्न लकडाउन खुकुलो बनाउनुको विकल्प नभएको भन्दै सरकारको पछिल्लो निर्णयले सबै उद्योगी व्यवसायी खुशी भएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्