अब बैंकहरू दुई सिफ्टमा खुल्ने



Building and sign bank (done in 3d)

नेपाल समाचारपत्र, काठमाडौं

सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि मापदण्ड निर्धारण गरेको छ । कोरोना भाइरसको महामारीलाई रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउनलाई केही खुकुलो बनाउँदै यस्तो कार्यक्रम ल्याएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अब बैंक तथा वित्तीय संस्थाका कर्मचारीले लकडाउनमा २ सिफ्ट गरेर कार्यालय सञ्चालन गर्नु पर्नेे छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउन अवधिमा बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्थाहरु, सार्वजनिक तथा सरकारी कर्मचारीले पूर्णकालीन समय ग्राहकलाई सेवा दिनुपर्ने बताउनुभयो ।

जसमा कर्मचारीलाई व्यवस्थापन कमिटिले बिहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि ६ बजेसम्मको सिफ्ट मिलाउनु पर्ने सरकारको निर्देशन छ ।

यसअघि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले बिहान ११ बजेबाट २ बजेसम्म मात्र सेवा दिँदै आएका थिए । वित्तीय सेवा अत्यावश्यक सेवाअन्तर्गत रहेको हुँदा यसलाई पुर्णकालिन रुपमा ग्राहकलाई सेवा दिने निर्णय गरिएको मन्त्री खतिवडाले बताउनुभयो ।

पूर्वाधार निर्माण निर्वाध हुने

कोरोना भाइरसको महामारीका कारण शिथिल अर्थतन्त्रलाई पुनरुत्थान गर्न भौतिक पूर्वाधार तथा जलविद्युत् आयोजना निर्माण कार्य सञ्चालन गर्ने भएको छ । मन्त्री खतिवडाले भौतिक पूर्वाधारका क्षेत्र निर्वाध रुपमा चल्न दिने जानकारी दिनुभयो । उहाँले जलविद्युत्लगायतका विकास आयोजना खुला गरेको बताउनुभयो ।

लकडाउनपछि बन्द भएका भौतिक पूर्वाधार, जलविद्युत आयोजना अब निर्वाध रुपमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको उहाँको भनाइ छ । अब भौतिक पूर्वाधारमा आवश्यक आधारभूत निर्माणको लागि निर्माण सामग्रीको अभाव हुन नदिने खतिवडाले बताउनुभयो ।भौतिक पूर्वाधारको क्षेत्र खुला भएपनि काम गर्दा व्यक्तिगत दुरी कायम गरेर, मास्क, स्यानिटाइजर प्रयोग अनिवार्य गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्