धनी काठमाडौं महानगरको गरिब क्वारेन्टाइन व्यवस्था



ईश्वरराज ढकाल, काठमाडौं ।

राहतमा ६ करोडभन्दा बढी खर्च गर्न सक्ने काठमाडौं महानगरपालिकासँग क्वारेन्टाइन व्यवस्थापनका लागि आफ्नो कुनै ठाउँ छैन ।

केही दिनअघि परीक्षण गर्दा महानगरको वातावरण व्यवस्थापन महाशाखाका फोहोरमा काम गर्ने ३१ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस बेला ती कर्मचारीलाई क्वारेन्टाइनमा राख्न ठाउँ अभाव भएपछि विभागीय प्रमुख, महाशाखा प्रमुख र लेखा शाखा रहेको अफिस भवनमा कोचकाच पारिएको थियो ।

हतार–हतारमा टेबुल–कुर्सी र सोफा हटाएर ती कर्मचारीलाई क्वारेन्टाइनमा राखेको समाचार बाहिर आयो । विभागका कर्मचारीका अनुसार क्वारेन्टाइन नभएपछि ३१ जना कर्मचारीलाई रात काट्नसमेत समस्या परेको थियो । यो त एउटा उदाहरण मात्र हो, यदि महानगर क्षेत्रभित्रका जनता वा कर्मचारीलाई कोरोना संक्रमण देखिए महानगरमा राख्ने ठाउँ छैन ।

उपत्यकाका अधिकांश स्थानीय तहले आफ्नो स्वामित्वमा क्वारेन्टाइन सञ्चालन गरे पनि देशकै सबैभन्दा धनी काठमाडौं महानगरसँग क्वारेन्टाइन नहुनुु अस्वाभाविक छ । कामपाका प्रवक्ता ईश्वरमान डंगोलले क्वारेन्टाइन बनाउने विषयमा अध्ययन भइरहेको जानकारी गराउँदै भन्नुभयो– ‘यो समस्या समाधान गर्ने पहलमा छौं । कामपाले ४ वटा क्वारेन्टाइन बनाएको छ । म अध्यक्ष रहेको १५ वडामा भए पनि काम लाग्ने अवस्थामा छैन ।’

ललितपुर महानगरपालिकाले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को खेल मैदानमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।

‘हामीले बनाउनुपर्ने हो, विभिन्न कारणले गर्दा सकेका छैनौं ।’ –प्रवक्ता डंगोलले बताउनुभयो । कामपाका प्रमुख कार्यकारी अधिकृत (सचिव) एकनारायण अर्यालले काठमाडौंमा क्वारेन्टाइन निर्माण गर्ने विषयमा छलफल भए पनि कामपा आफैंले क्वारेन्टाइन बनाउने विषयमा कुनै निर्णय नभएको बताउनुभयो । तर, कामपाको आइतबार बसेको बोर्डको बैठकमा आफ्नै कर्मचारीलाई क्वारेन्टाइनमा राख्न समस्या भएको गुनासो गर्दै क्वारेन्टाइन निर्माण गर्ने विषय उठेको थियो ।

उपत्यकाका विभिन्न नगरपालिकालार्ई करोड रुपियाँसम्मको आर्थिक सहयोग गर्ने कामपाले क्वारेन्टाइन निर्माण गर्न नसक्नु दुःखको विषय भएको छ ।

कार्यकारी अधिकृत अर्यालले यो विषयमा चाडै निर्णय गर्ने तरखरमा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्