आजदेखि बजेट अधिवेशन शुरू



नेपाल समाचारपत्र, काठमाडौं

संघीय संसद्मा आज शुक्रबारदेखि बजेट अधिवेशन शुुरू हुँदै छ । यस अधिवेशनमा सहभागी हुने संसद् र अन्य व्यक्तिहरू संसद् बैठक अवधिभर सांसद घरमा एकान्तबासमा बस्नुपर्ने नियम बनाएको छ ।

संसद् भवन बानेश्वरमा बिहीबार राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो नियम बनाएको हो ।

समितिको बैठकले विभिन्न सातबुँदे आचारसंहितासमेत तयार पारेको संसद् सचिवालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाइने समितिले जनाएको छ भने राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर सदस्यहरू नियमितरूपमा एउटै सिटमा बस्नेछन् ।

बैठकको निर्णयअनुसार प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य सदस्यहरूले आमरूपमा रोस्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नेछन् ।

संसद् भवनमा प्रवेश गर्दा र फर्कंदा फरक ढोकाको प्रयोग गरिनेछ । क्यान्टिन र सभाहलबाहिर पनि अनावश्यक भीड नगर्न तथा दूरी कायम गर्न समितिको निर्णयमा भनिएको छ । संसद् भवनलाई बैठकअगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिइने जनाएको छ ।

दर्शकदीर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने तथा मिडियालाई आमरूपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुने गरी व्यवस्थापन गर्ने जनाएको छ ।

त्यसै गरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले कोभिड–१९ रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्ने गरी संसद् भवनको स्थलगत अनुगमनपश्चात् तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने समितिको निर्णयमा उल्लेख छ ।

यस्तो छ आचारसंहिता

बैठक कक्ष प्रवेश गर्दा अनिवार्यरूपमा साबुनपानीले हात धुनुपर्ने, बैठक अवधिभर सबैले अनिवार्यरूपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।

त्यसै गरी बैठक समयमा भौतिक दूरीको पालना गरी तोकिएको कुर्सीमा मात्र बस्नुपर्ने, बैठक अवधिभर घरमा गई स्वयं एकान्तबासको नियमहरूको पालना गर्नुपर्ने गरी समितिले सांसदका लागि आचारसंहिता बनाएको छ ।

समितिले सकेसम्म समूहगत छलफल नगर्ने, यदि गर्नैपरेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्ने, आफूलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरीर दुखाइ आदि) देखापरेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्