सरकारी कारोबारको रिपोर्टिङ गर्न निर्देशन


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल राष्ट्र बैंकले सम्पूर्ण वाणिज्य बैंकहरूलाई सरकारी खाताको विवरण जेठ १ गतेदेखि नयाँ ढाँचा अनुसार नियमित रुपमा पेश गर्न निर्देशन दिएको छ ।

वैशाख मसान्तभित्र सरकारी खाता अद्यावधिक गराएका वाणिज्य बैंकले जेठ १ गतेदेखि नयाँ ढाँचा बमोजिम राष्ट्र बैंकको बैंकिङ कार्यालय तथा सम्बन्धित प्रदेशका लागि राष्ट्र बैंककै तोकिएका कार्यालयमा अनिवार्य रुपमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै हाल इमेलमार्फत राष्ट्र बैंकसमक्ष सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको तथा सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत समेत प्रतिवेदन पेश गर्ने गरेकोमा अब उप्रान्त सरकारी कारोबारसम्बन्धी प्रतिवेदन पेश गर्न एउटा छट्टै इमेल आईडीको व्यवस्था गरी सोही आईडीमार्फत मात्र पत्राचार गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन गरेको छ ।

गत वैशाख २ गते १० कार्यदिनको समयसीमा तोकी सरकारी कारोबार निर्देशिका २०७६ बमोजिम सरकारी कारोबार गर्न इजाजतप्राप्त सम्पूर्ण वाणिज्य बैंकलाई हाल ती बैंकमा सञ्चालनमा रहेका सरकारी खाताहरू अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न निर्देशन दिएको थियो ।