लकडाउनले सिन्धुली,रामेछाप, दोलखामा युरिया मलको अभाव



बुद्ध नेपाली,सिन्धुली ।

घ्याङलेख गाउपालिका –४ नेत्रकाली स्थित नेत्रकाली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बुद्धिमान स्याङतानका अनुसार घ्याङलेख गाउपालिका –४ नेत्रकालीमा मात्रै करिव ९ सय बोरा मल आवश्यक पर्छ ।

किसानले सहकारीमा माग गरेका आधारमा बिहीवार मल लिन उहाँ गाडी लिएर सिन्धुली स्थित कृषि सामग्री संस्थान कार्यालयमा आउनुभयो । तर कृषि सामग्री संस्थान सिन्धुली कार्यालयले भने लकडाउनका कारण पर्याप्त मल आउन नसकेको भन्दै उहाँले माग गरेजति मल दिएन् ।

लकडाउनका कारण कृषि सामग्री संस्थान सिन्धुलीमा विरगन्जबाट पर्याप्त युरिया मल नआउदा मलको अभाव भएको छ । सिन्धुली सहित रामेछाप र दोलखा जिल्लालाई आवश्यक मल वितरण गर्दै आएको कृषि सामग्री संस्थान सिन्धुलीमा लकडाउनका कारण मल आउन नसकेपछि मलको अभाव भएको हो ।

तिनपाटन गाउपालिका –४ चकमके स्थित शुभप्रभात कृषि सहकारी संस्थाका अध्यक्ष दिनानाथ घिमिरे पनि सहकारीमा माग भए अनुसारको मल लिन कार्यालयमा आउनुभयो । तर मल नपाएपछि कार्यालयले जति दिन्छ त्यती नै लिएर जान बाध्य हुनुभयो । उहा आफै पनि किसान हुनुहुन्छ । मल अभाव भएपछि खेतीबालीमा उत्पादन घट्ने उहाँको चिन्ता छ ।

सिन्धुलीमा अहिले सबैभन्दा बढी युरिया मलको अभाव रहेको छ । कृषि सामग्री संस्थान सिन्धुलीमा लकडाउन सुरु भएपछि अहिले ५२ दशमलब ८५० मेट्रिकटन अर्थात एक हजार ५७ बोरा युरिया मल आएकोमा सबै मल विक्री भईसकेको कार्यालयका निमित्त प्रमुख बरिष्ट सहायक सन्तोष कुमार यादवले बताउनुभयो ।

उहाँका अनुसार डिएपि मलको भने अभाव छैन् । लकडाउनको अवधीमा डिएपि मल १०२ दशमलब ३५० मेट्रिकटन अर्थात दुई हजार ४७ बोरा स्टक रहेकोमा २८ दशमलब ८५० मेट्रिकटन अर्थात ५ सय ७७ बोरो मात्रै विक्री भएको छ । किसानले डिएपी मल कम प्रयोग गरेकाले विक्री पनि कम भएको उहाँले बताउनुभयो ।

पोटास १९दशमबल ९००मेट्रिकटन अर्थात ३ सय ९८ बोरा मध्ये १ दशमलब १०१ मेट्रिकटन विक्री भएको उहाँले बताउनुभयो ।‘हाम्रो बार्षिक बजेट भनेको युरिया २ हजार मेट्रिकटन, डिएपी ५ सय मेट्रिकटन र र पोटास भनेको ३० देखि ३५ मेट्रिकटन बजेट परित हुने गर्छ ।

यस बर्ष पनि यही आधारमा बजेट पास भएको छ तर लकडाउनले गर्दा सबै ठाउँमा आयता ठप्प छ । यही लकडाउनका कारण मलको हाहाकार भएको हो । यसमा हाम्रो कुनै दोस छैन् । ’ उहाँले भन्नुभयो । आफुले लगाएको अन्नबालीमा मल हाल्न नपाउदा उत्पादन घट्ने भन्दै किसान चिन्तीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्