विज्ञप्ति निकालेर भाटभटेनीलाई बचाउन खोज्दा आफै फस्यो काष्ठमण्डप खाद्य उद्योग

282
Shares

न्युज अफ नेपाल,काठमाडौँँ ।

भाटभटेनी सुपरमार्केटले बजारमूल्य भन्दा बढीमा लाखामरी बेचेर कारबाहीमा परेपछि बचाउमा विज्ञप्ति जारी गर्ने काष्ठमण्डप खाद्य उद्योग टेकुलाई पनि कारबाही गरिएको छ । टंगालस्थित भाटभटेनीले रु. १२० पर्ने लाखामरीलाई रु. २२० मूल्य राखेर बिक्री गरेपछि बढी मूल्यमा लाखामारी बेचेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रूपैयाँ जरिवाना गरेको थियो ।

त्यो जरिवानाको समाचार सार्वजनिक भएलगत्तै भाटभटेनीको बचाउमा काष्ठमण्डप खाद्य उद्योगले विज्ञप्ति जारी गर्दै आफ्ना कामदारका गल्तीले एमआरपीको ट्याग गलत लागेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।यद्यपि वाणिज्य विभागको अनुगमनले उक्त उद्योगले पुरानो स्टकका लाखामरी आपूर्ति गरेको प्रमाणित भएपछि उद्योगलाइ समेत ३ लाख रुपैयाँ जरिवाना गराएको छ ।

‘यसको अर्थ भाटभटेनीको कारबाही फिर्ता भएको होइन, उसमाथि र काष्ठमण्डप खाद्य उद्योगमाथि फरक-फरक जरिवना भएको हो’, विभागका एक अधिकारीले भने ।

काष्ठमण्डप खाद्य उद्योगले म्याद नाघेको तयारी खाद्य पदार्थ बिक्री गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐनबमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।