लकडाउनपछि जिल्ला बाहिरबाट आएका ९० जना क्वारेन्टाइनमा



विमल विष्ट, डोटी ।

लकडाउनको अवधिमा जिल्लाबाहिरबाट आएका ९० जना स्थानीयलाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेसँगै उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएको हो ।

कैलालीको धनगढीबाट लकडाउनपछि घर फर्किएका जिल्लाको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका १२ जना तथा वडा नं १ गैराका ५ जनालाई सम्बन्धित वडाका क्वारेन्टाइनमा राखिएको छ ।

कैलालीमा कोरोनाका संक्रमित भेटिएको र कैलालीसहित अन्य जिल्लाबाट डोटीमा आउनेलाई क्वारेन्टाइनमा राखिने नियमअनुसार उनीहरुलाइ क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘जिल्लाबाहिरबाट आउने नागरिकबाट कोरोना संक्रमण फैलिन सक्ने भएकाले त्यसको रोकथामका लागि हामीले कैलालीबाट घर आएका १२ जनालाई क्वारेन्टाइनमा राखेका छौं, अन्य आउनेलाई पनि राखिनेछ ।’

क्वारेन्टाइनमा राखिएकाहरूको दैनिक स्वास्थ्य जाँच गरिनुका साथै खान–बस्नको उचित व्यवस्था मिलाइएको वडासचिव शेरबहादुर विष्टले जानकारी दिनुभयो । कैलाली र कञ्चनपुरमा कोरोना संक्रमित देखिएसँगै डोटीमा अहिले कोरोना रोकथामम तथा नियन्त्रणमा निकै कडाइ गरिन थालिएको छ ।

जिल्लाका नौवटै स्थानीयतहले जिल्ला बाहिरबाट आउने नागरिकको तत्थ्यांक संकलन गर्नुका साथै क्वारेन्टाइनमा राख्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा गएको एक हप्तापहिले जिल्लाबाहिरबाट आएकाहरूलाई २१ दिन क्वारेन्टाइनमा राखिने भन्ने निर्णयअनुसार अहिले जिल्ला बाहिरबाट आउने जो–कोही नागरिकलाई क्वारेन्टाइनमा राखिन थालिएको हो ।

त्यसै गरी लकडाउनका कारण काठमाडौंमा फसेका अन्य ७३ जना स्थानीय सोमबार जिल्ला आइपुगेका छन् । उनीहरूलाई पनि २१ दिन क्वारेन्टाइनमा राखिएको छ । यहाँका स्थानीय तहहरूको पहलमा काठमाडौंमा रहेका आ–आफ्ना नगरपालिका तथा गाउँपालिकाभित्रका लकडाउनमा फसेका नागरिकलाई जिल्ला ल्याएको थियो ।

काठमाडांै जिल्ला प्रशासन कार्यालयको सवारी पास लिएर आइतबार काठमाडौंबाट बा५ख २८६१ र बा५ख २८७३ नम्बरका दुईवटा बसबाट प्रस्थान गरेका उनीहरू सोमबार जिल्ला पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिनुभयो ।

सम्बन्धित स्थानीय तहले नै व्यवस्थापन गर्ने गरी उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित स्थानीय तहमा पडाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

जिल्ला भित्रिएकाहरूमा सबैभन्दा बढी पूर्वीचौकी गाउँपालिकाका ३४ जना, बोगटान फुड्सिल गाउँपालिकाका १९ जना, केआई सिंह गाउँपालिकाका ९ जना, आदर्श गाउँपालिकाका ७ जना तथा शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका २–२ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जसमध्येका २ जना दिपायल सिलगढी नगरपालिकाका भए पनि उनीहरूलाई पूर्वीचौकी गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने गरी जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ती दुई जनामध्ये १ जना दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का र १ जना प्रहरी अधिकृतको छोरी रहेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय डोटीलाई कुनै जानकारी नदिई ती नागरिक एक्कासी डोटीको बुडर पुगेपछि आफूूलाई खबर आएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

लकडाउनका बेला काठमाडौंबाट डोटी ल्याइएकोमा यहाँका कतिपय स्थानीयको बुझाई राम्रो काम गरेको भने तापनि एकातर्फ यसरी मानिस ओसार्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै त्यसो नगर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्