चाँगुनारायण नगरपालिकामा ड्रोनबाट सर्वे सुरु



पुष्कर बुढाथोकी, भक्तपुर ।

चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्यको सुरुवात गरेको छ ।नगरपालिकाको वडा नम्बर २, दुवाकोटबाट उक्त कार्यको सुरु गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।

नगरपालिकाका केही क्षेत्रहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको हवाईमार्ग पर्ने र सडकहरुमा हुने सवारी चापको कारण अन्य समयमा यो कार्य क्षेत्रमा निकै चुनौतिपूर्ण हुने भएकोले मुलुकमा भईरहेको लकडाउनको बाबजुत पनि सर्वेक्षण एवं नक्साङ्न कार्य गरिएको नगरप्रमुख मिश्रले बताउनुभयो।

काठमाडौँ उपत्यकामा सबै स्थानीय तहहरुमा ड्रोन सर्वे एवं नक्साकंन गर्ने उद्देश्य राखेको यस परियोजनको उपत्यकामा पहिलो र परिक्षण सर्वे चाँगुनारायण नगरपालिकामा गर्न लागिएको नगरपालिको भनाई छ । यस परियोजनाको लागि राज्यका अन्य निकायसँगको आवश्यक समन्वय एवं स्वीकृती लिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।

यस परियोजनामा विभिन्न संघ संस्थाहरुले निशुल्क रुपममा सहयोग गरेका छन् ।आफ्नो घर आँगन, खेत, बारी एवं अन्य क्षेत्रमाथि देखिने ड्रोन यन्त्रहरुलाई नगरपालिकाको परियोजना अन्तरगत उडान भईरहेको रुपमा लिई सहजता अपनाउन नगरबासीमा नगरप्रमुख मिश्रले अनुरोध गर्नुभयो ।

यसकार्यबाट भविष्यमा विपत व्यवस्थापन र नगरपालिकाका महत्वपूर्ण स्थानको पहिचान गर्न सहज हुने बताउँदै प्राविधिक उत्तम पुडासैनीले सर्वेक्षण कार्य करिब १५ दिनमा सकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्