खोटाङमा सबैको आरडीटी रिपोर्ट ‘नेगेटिभ’, पीसीआर पनि ‘नेगेटिभ’



रामधन राई, खोटाङ, ।

खोटाङमा हालसम्म गरिएको कोरोना भाइरसको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा सबैको रिपोर्ट नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएपछि क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए÷नभएको थाहा पाउनका लागि जिल्लामा वैशाख ३ गतेदेखि सम्बन्धित पालिकामै पुगेर ¥यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरिएको हो । जिल्लाका अधिकांश स्थानीय तहमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

बुधबार मात्र साकेला गाउँपालिकाका १५ जनाको आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रजिअ पौडेलले जनाउनुभयो । यसअघि, हलेसी तुवाचुङ नगरपालिकाका २३ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ जना, केपीलासगढी गाउँपालिकाका ५ जना, ऐसेलुखर्क गाउँपालिकाका ५ जनामा टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८ जना, खोटेहाङ गाउँपालिकाका २६ जना, जन्तेढुंगा गाउँपालिकाका २० जना र बराहपोखरी गाउँपालिकाका १ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । रिपोर्ट ‘नेगेटिभ’ देखिए पनि १० प्रतिशतको नमँना संकलन गरेर परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने व्यवस्था मिलाइएको प्रजिअ पौडेलको भनाइ छ ।

पाँच जनाको पीसीआर रिपोर्ट पनि ‘नेगेटिभ’
हलेसी तुवाचुङ नगरपालिकाबाट पीसीआर टेस्टका लागि पठाइएको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । आरडीटी टेस्टसँगै पीसीआर टेस्टका लागि पठाइएको पाँच जनाको नमुनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले सुनाउनुभयो ।

दुर्छिमस्थित स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएका एक जना, स्वास्थ्य चौकी महादेवस्थानमा बनाइएको क्वारेन्टाइनमा राखिएका एक जना तथा चैत यता विदेशबाट फर्किएका तीन जनासहित पाँच जनाको पीसीआर टेस्टका लागि नमुना संकलन गरेर पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्