वस्तु निर्यात २२ प्रतिशतले बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं

चालू आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा कुल वस्तु निर्यात २२ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७४ अर्ब ९१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ निर्यात ३५ दशमलव ५ प्रतिशत र अन्य मुलुकतर्फ १ दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १९ दशमलव ४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चालू आर्थिक वर्ष २०७६÷७७ को आठ महिनामा कुल वस्तु आयात २ दशमलव ६ प्रतिशतले घटेर रु ९२४ अर्ब २४ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३ दशमलव ८ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७ दशमलव ५ प्रतिशतले घटेको छ भने चीनतथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५ दशमलव ५ प्रतिशत र ६ दशमलव ८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एम दशमलव एस दशमलव बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगंज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानी र कञ्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ४ दशमलव ३ प्रतिशतले संकुचन भई ८४९ अर्ब ३३ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव १ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६ दशमलव ५ प्रतिशत रहेको थियो ।

निर्यात आयात मूल्य सूचकांक

चालू आर्थिक वर्षको फागुन महिनामा भन्सार तथ्यांकमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकांक शून्य दशमलव ९ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक शून्य दशमलव ८ प्रतिशतले घटेको छ । २०७५ फागुन महिनामा वार्षिक बिन्दुगत आधारमा २ दशमलव ७ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ फागुन महिनामा १ दशमलव ७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय ५ अर्ब १२ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ११ अर्ब १ करोड रुपियाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ११ दशमलव ९ प्रतिशतले वृद्धि भई ५४ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४८ अर्ब ३६ करोड रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २० दशमलव ८ प्रतिशतले घटी ४८ अर्ब ९६ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २३ अर्ब ९८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६१ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब १७ करोड रहेको थियो ।

 

विप्रेषण आप्रवाहमा वृद्धि

चालू आर्थिक वर्ष २०७६/७७ को आठौं महिनामा विप्रेषण आप्रवाह १ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ५९२ अर्ब ४२ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव ४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११ दशमलव ७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४ दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६ दशमलव ६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय १ दशमलव ४ प्रतिशतले वृद्धि भई ६७१ अर्ब ८९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२ दशमलव ९ प्रतिशतले बढेको थियो ।

 

चालूू खाता एवं शोधनान्तर स्थिति

चालू आर्थिक वर्ष २०७६/७७ को आठौं महिनामा चालु खाता घाटा १२४ अर्ब ९३ करोड रुपियाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९१ अर्ब ४९ करोड रुपियाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ६८ करोड रुपियाँ रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब १० करोड रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब १५ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ५६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६६ करोड रुपियाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनासम्ममा ५१ करोड ७० लाखले रुपियाँ घाटामा रहेकोमा समीक्षा अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्