विश्व–व्यवस्थामा फेरबदलको संकेत



नन्दलाल खरेल

विश्वभरिनै पुँजीवादी राजनीतिक तथा आर्थिक ब्यवस्थाले साम्राज्य फैलाइरहेको बेला विगत साढे तीन महिनादेखि कोरोना साम्राज्यले विश्वलाई हायलकायल बनाइरहेको छ । विगत दुई शताब्दीभन्दा अघिदेखिविश्वलाई नेतृत्व गरिरहेको महाशक्ति राष्ट्र अमेरिकासमेतलाई यो सूक्ष्म भाइरसले इपिसेन्टर बनाएको छ ।

धेरै विश्लेषकहरुले कोरोनापछिको विश्व पुँजीवादी व्यवस्थामा समेत बदलाव आउने संकेत गरेका छन् । त्यतिमात्र होइन, विश्व महाशक्तिको ताज अमेरिकाले कायम गर्न सक्छ या सक्दैन, प्रशस्त अड्कलबाजी गरिरहेका छन् । कोरोना भाइरसका बारेमा अमेरिका र चीनबीच कुटनीतिकरुपमा भइरहेको आरोप–प्रत्यारोपलाई विश्वमै महत्वकासाथ हेर्ने गरिएको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनको इशारामा चलेको आरोप र विश्व स्वास्थ्य संगठनालाई उपलब्ध गराउँदै आएको सहयोग रोक्ने बारे विचार गरिहरेको अभिव्यक्ति दिए । उनको यो अभिव्यक्ति संसारभरि नै चर्चा भयो ।

विश्व अहिले लकडाउनको अवस्थामा छ । विश्वका धेरैदेशले यो महामारीबाट बच्न लकडाउनको नीति अख्तियार गरेका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यति बेला विश्वका २ सय १० देशमा फैलिएको छ । उद्गमस्थल चीन नियन्त्रण उन्मुख भएपनि अमेरिका, इटाली, स्पेन, बेलायत, फ्रान्स, इरानलगायतका देशमा भने आगोको मुस्लोझैँ झन्–झन् दन्किरहेको छ ।

हालसम्म कोरोना भाइरसको विरुद्धको औषधि र खोप पत्ता लागेको छैन । बिरामीको शरीरमा रहेको रोगप्रतिरोधात्मक क्षमता नै कोरोना भाइरसबाट पार पाउने एकमात्र उपाय हो । अहिले संसारका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन र औषधिको अनुसन्धानमा जुटेका छन् । धेरै राष्ट्रहरुले अर्बाैं रुपियाँ यसमा खर्च गरिरहेका छन् । अझै थप खर्च गर्ने योजनमा छन् । आशा गरौं, कोरोना भाइरसविरुद्धको भ्याक्सिन, औषधि छिट्टै पत्ता लागोस् र विश्वले चयनको श्वास फेरोस् ।

विश्वभर यो भाइरसबाट बच्न लकडाउनको नीति अवलम्बन भइरहँदा अमेरिकामा भने यो नीतिलाई लागू गरेको छैन । त्यसैले आज यो भाइरसले अमेरिकालाई इपिसेन्टर बनाएको छ । अझै पनि अमेरिकालाई महाशक्तिको दम्भ छ । अमेरिकी राष्ट्रपतिदेखि सर्वसाधारण जनतासम्मलाई अमेरिकी महाशक्तिको दम्भ छ । उनीहरुको चरित्र अरुभन्दा उत्कृष्ट र फरक हुनु देखिएको छ । झन् चीन र समाजप्रति अमेरिकीहरुको घृणा यति धेरै छ कि त्यसको केही अंश मात्र ट्रम्पको व्यवहारमा झल्किएको छ ।

यो विश्वव्यापी महामारीलाई चीनले जुन पद्धतिबाट नियन्त्रण गर्न लगभग सफल भयो, त्यो अनुशरण गर्न अमेरिकीहरुलाई त्यही कथित महाशक्तिको ताज (दम्भ) ले दिइरहेको छैन । चिनियाँ तथा समाजवादी भनिएका मोडललाई अनुशरण गर्दा आफ्नो राजनीतिक साख गुम्ने डर उसलाई ज्यादा छ । बरु केही लाख मानवीय क्षति गुम्दा उसलाई ठूलो चिन्ता छैन । अर्को कुरा, अमेरिकनहरु बजारमा आश्रित छन् । अमेरिकाले यस्तो प्रणालीको विकास गरेको छ, जहाँ कुनै पनि मानिस काम नगरी बाँच्न सक्दैन । केही हप्ता मात्रै पनि यस्तो दुष्प्रयास ग¥यो भने उसको सारा जनवीवनमा त्यसको डरलाग्दो असर पर्दछ ।

कोरोना भाइरसपछि भूमण्डलीकृत पुँजीवादको सट्टा नयाँ विकल्प खोजी त हुने होइन भनी विभिन्न चर्चाको शुरुवात हुन थालेको छ । मानव सभ्यताको पछिल्लो २ हजार वर्षको इतिहास मात्र हेर्ने हो भने पनि यसले बारम्बार उथलपुथल बेहोरेको छ । पुराना राजनीतिक, आर्थिक र सामाजिक मान्यताहरु भत्किने र नयाँ बन्ने क्रमसँगै शक्तिशाली साम्राज्यहरु पतन हुने र नयाँ विश्वशक्तिको उदय हुने चक्र चालूछ । पश्चिमा मुलुकहरुबाट शुरुवात भएको औद्योगिक क्रान्तिपछि तीव्र बनेको परिवर्तनको रफ्तार अझै जारी छ । र, दोस्रो विश्वयुद्धपछिको ७५ वर्षमा संसारले प्रविधि र भौतिक पक्षमा अभूतपूर्व विकास गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९)का कारण विभिन्न देशमा गरिएको लकडाउन अन्त्य गर्न हतार गरेमा त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएको छ । संगठनका प्रमुख डा. टेड्रस एड्हानोम गेहबे्रयससले कोभिड–१९ प्रभावित देशहरु लकडाउन खोल्नुअघि भाइरसको ‘घातक पुनरुत्थान’ हुन सक्नेतर्फ गम्भीर रहन सुझाव दिए । युरोपमा भाइरसको सबैभन्दा बढी मारमा परेका इटाली र स्पेनले लकडाउनलाई केही खुकुलो पार्ने बताइरहेको बेला गेहब्रेयससले चेतावनी दिएका हुन् । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै गेहबे्रयससले युरोपेली देशहरुमा संक्रमणको गति सन्तोषजनकरुपमा घट्दै गइरहेको बताए । डब्लुएचओले विभिन्न देशमा जारी लकडाउन खुकुलो पार्नेबारे विभिन्न ती देशका सरकारहरुसँग मिलेर रणनीति बनाइरहेको उनले बताए ।

कोरोना भाइरस प्राकृतिक हो या मानवसृजित हो ? यससम्बन्धी पनि बहस भइरहेको छ । कतिपयले यसलाई मानवसृजितको रुपमा व्याख्या गरेका छन् । जैविक र रासायनिक हतियार वैज्ञानिक इंग्नोर निकुलिनले कोरोना भाइरस अमेरिकाले उत्पादन गरेको जैविक हतियार भएको बताएका छन् । उनले यसको अरु रुपान्तरित संस्करण पनि तयार पारेको दाबी गरेका छन् । निकुलिन राष्ट्र संघका भूतपूर्व महासचिव कोफी अन्नानका जैविक तथा रासायनिक हतियारका सल्लाहकार हुन् । उनी रुसका वैज्ञानिक हुन् ।

कोरोना भाइसर अमेरिकामा उत्पादन गरेर चीनमा छोडिदिएको निकुलिनले बताए । चीनमा कोरोना देखा पर्नासाथ अमेरिकाले गणितीय रुपमा फरवरी महिनासम्म २ लाख मानिस संक्रमित हुने र १ लाख मर्ने भविष्यवाणी गर्नु, भाइरसले फरक–फरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकी लाग्नु र कतै कुनै लक्षण नदेखिएर यसले मानिस मर्नु, एकपटक निको भइसकेका व्यक्तिहरुमा यो पुनः संक्रमित हुनु जस्ता कुराले यो भाइरस प्राकृतिक नभएको उनको दाबी छ ।

कोरोना चीनलाई लक्षित गरेर बनाइएको र यसको असर अमेरिकासम्म आइपुग्ने सोच नबनाएको कारणले अमेरिका आफैंले उत्पादन गरेको हतियारको सिकार भएको निकुलिनले बताएका छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पले शुरुमा भाइरसले पु¥याउन सक्ने क्षतिका बारेमा विश्व स्वास्थ्य संगठन र चीनले दिएको चेतावनीलाई उडाउनुको कारण उनी यो भाइरसले अमेरिकामा असर गर्दैन भन्नेमा ढुक्क भएको बताएका छन् ।

उनले भनेका छन्– चीन अनुशासित र दृढ संकल्प नभएको भए यो आक्रमणबाट स्वाहा हुने थियो । चीनबाटशुरु हुनु संयोगमात्रै नभएको बताउँदै निकोलिनले बताए । उनले अमेरिकी गुप्तचर संस्था सीआईएले सन् २०१५ मा तयार पारेको रिपोर्टमा पनि सन् २०२० मा ठूलो महामारी पैदा हुने र चीनको सेरोफेरोबाट विकास हुने भविष्यवाणी गरिएको छ । रिपोर्टमा महामारीपछि सन् २०२५ तिरको विश्वको तस्वीर प्रस्तुत गरिएको छ ।

यति बेला नेपाललगायतका अमेरिकाबाहेक विश्वका सबै देशले चीनले देखाएको बाटो हिँडिरहेका छन् । जसको शासन प्रणालीलाई धेरै देशले ह्याउने गर्थे । समाजलाई बन्दगरेर जनताको स्वतन्त्रता हनन गरेको भनेर आलोचना गर्थे । अहिले उनीहरुलाई त्यही कम्युनिस्ट सहायता चाहिएको छ । अमेरिकाले समेत चीनसँग हात फैलाउनुपर्ने अवस्था आएको छ । दुई महिनाअघिसम्म कोरोना चीनका लागि आतंकको विषय थियो । अहिले उसले त्यो भाइरसलाई नियन्त्रण गरी अमेरिका, युरोपदेखि भारत, नेपालसम्म मेडिकल सामग्री निर्यात गरिरहेको छ ।

धेरै राष्ट्रले उसका ती सामग्री धेरै पैसा तिरी आयात गर्न तँछाडमछाड गरिरहेका छन् । चीनलाई कसैको आन्तरिक राजनीतिको चासो छैन । उसलाई आफ्ना उत्पादन तथा सेवाहरु विश्वबजारमा कसरी पु¥याउने भन्ने चिन्ता मात्र छ । कोरोना भाइरसको महामारीलाई उनीहरुले अर्थतन्त्रलाई अझ मजबुत बनाउने अवस्थाको रुपमा लिएका छन् । चीन अर्थतन्त्रलाई मजबुत बनाउने तयारी अवस्थामा छ ।

कोभिड–१९ को महामारीबाट पुँजीवादी देशहरु बढी प्रभावित छन् । पछिल्लो महिना मात्र संक्रमण देखिएका मुलुकहरु अहिले महामारीबाट उठ्नै नसक्ने गरी थलिएका छन् । कोरोना महामारीबाट समाजवादी र समाजवादी भनिएका मुलुकहरु कम प्रभावित छन् । त्यतिमात्र होइन, समाजवादी मुलुक भियतनाम, लाओस र उत्तरकोरियामा नागरिकको ज्यान गएको छैन । यी मुलुकहरु कोभिड–१९ को लक्षण पहिला नै देखिए पनि पूर्वतयारी र उच्च सतर्कताका कारण महामारीबाट जोगिए ।

अन्त्यमा मानिसले भौतिक सम्पन्नता र सुखसयलको खोजीमा प्रकृतिको बेहिसाब दोहन गर्न थालेको छ । पछिल्लो समयमा मानिसहरु चरम उपभोगवादी चरित्रको बाटोमा हिँडेका छन् । यो चरित्रले मानवीय जीवनका मूल्य, मान्यता, आदर्श, संस्कार सबैलाई ध्वस्त पार्दे मान्छेलाई खेलौना बनाइदिएको छ । मानिसले प्रकृतिक सम्पदा, जंगल, खनिज, पानी सबैमाथि एकछत्र आक्रमण गरिरहेको छ । समुद्रका कीरासमेत नछोड्ने मानिसले सबै प्राणीको जीवन जोखिममा पारिदिएको छ । परावैजनी किरणले विभिन्न व्याधी निम्त्याइरहेको छ, पृथ्वीमा नयाँ–नयाँ विषाक्त ग्यासको आयतन बढ्दै गएको छ । यसले मानिस मात्र होइन, पृथ्वीका सबै प्राणी र वनस्पती संकटमा छन् ।

मानिसको ज्यादतीलाई टेकेर पृथ्वीलाई आफ्नो लयमा फर्काउनु प्रकृतिको नियम हो । न पुँजीवादले यसलाई जित्न सक्छ, न समाजवादले नकार्न सक्छ । जब सिंगो पर्यावरणीय प्रणाली स्वस्थ हुन्छतब मात्रै मानव समाज स्वस्थ हुन सक्छ । प्रकृतिको समृद्धिसँग हाम्रो समृद्धि जोडिएको छ । पश्चिमा पुँजीवादको राजनीतिक तथा आर्थिक प्रणालीभन्दा फरक पर्यावरणीय समाजवाद अबको आवश्यकता हुन सक्छ । यस्तो समाजवादले मात्र प्रकृतिको र मानवसमाजको कल्याण सम्भव छ । यसतर्फ विश्वको ध्यान जानुपर्दछ, तबमात्र यस्ता महामारीले विश्वलाई छुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्