गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ११ लाख रुपियाँ संकलन



भूपराज बस्याल, स्याङ्जा

स्याङ्जाको गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा ११ लाख रुपियाँ संकलन भएको छ । नगरपालिकाको राहत कोषमा आइतबार सम्ममा ११ लाख तीन हजार, छ सय ७६ रुपियाँ राहत रकम जम्मा भएको हो ।

आइतबार संविधानसभा सदस्य मुक्तिप्रसाद पाठकले २१ हजार रुपियाँ राहत कोषका लागि नगरप्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको छ । गल्याङ नगरपालिका ७ स्थायी घर भएका पाठकले नगरपालिकाको राहत कोषमा रकम जम्मा गर्नुभएको हो । राहत रकम हस्तान्तरण गर्दै सभासद पाठकले पीडितहरुको सेवामा थोरै भएपनि सहयोग गरेको बताउनुभयो ।

उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि साबधानी अपनाउने क्रममा धेरै जनता विपत्तीमा परेको भन्दै उनीहरुको उद्दारमा स्थानीय तह पनि चनाखो भएर लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै, बुटवल पावर कम्पनी विपीसी गल्याङ शाखाको तर्फबाट शाखा प्रमुख डोल खरेलले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा रु. ५० हजार सहयोग गर्नुभएको छ ।

रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपन्न गरिबहरुका लागि सहयोग रकमको सही सदुपयोग गर्न प्रतिबद्व रहेको बताउनुभयो । उहाँले प्राप्त सबै सहयोगहरुको उचित ढंगले परिचालन गरी वास्तविक गरिबलाई राहत दिन क्रियाशिल रहने बताउनुभयो । नगरप्रमुख अधिकारीले कहिलेसम्म यो सन्त्रास रहन्छ भन्ने कुराको कुनै टुङ्गो नभएकाले साबधानी अपनाएर बस्नुको विकल्प नभएको बताउनुभयो ।

सहयोग हस्तान्तरण बुटवल पावर कम्पनी आँधीखोला केन्द्र गल्याङ शाखाका प्रमुख डोल खरेलले बुटवल पावर कम्पनीको तर्फबाट केन्द्रीय तह देखि नै सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहमा पनि थोरै भएपनि सहयोग गरेर एक्यबद्वता जनाउन खोजिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्