शेयर कारोबार वैशाख १५ गतेसम्म बन्द



काठमाडौं, (नेस)

कोरोनाको प्रभाव न्यूनीकरण गर्नका निम्ति देशव्यापी रुपमा लक डाउन लम्बिएसँगै सेयर कारोबार पनि वैशाख १५ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर कारोबार बन्द गर्ने निर्णय गरेकाले शेयर बजार बन्द हुने भएको हो ।

नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ अनुसार काबु बाहिरको परिस्थिति सिर्जना भएको भन्दै लकडाउन अवधिभर शेयर कारोबार बन्द गर्ने जनाएको छ ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीमा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा नेपाल धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ ।

शेयर कारोबारमा अनलाइन प्रणाली लागू भइसकेको भए पनि सबै लगानीकर्ता अनलाइन प्रणालीमा नजोडिएको भन्दै लगानीकर्ताका विभिन्न संगठनले कारोबार रोक्न दबाब दिँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्